नेपालबाटै फेसबुक मनिटाइज गरेर पैसा कमाउन सकिन्छ , यस्तो छ नियम

 नेपालमा कन्टेन्ट मनिटाइजेसन औपचारिक रूपमा सुरु भइसक्यो, बैंकबाट सजिलै रकम निकाल्न सकिन्छ


काठमाडौँ । मेटाले नेपालमा फेसबुक कन्टेन्ट क्रिएटरका लागि कन्टेन्ट मनिटाइजेसन कार्यक्रम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । कम्पनीले ईमेलमार्फत प्रयोगकर्तालाई यो सेवा आधिकारिक रूपमा नेपालमा सुरु भएको जानकारी दिन थालेको हो । 

यसले नेपाली कन्टेन्ट क्रियटरका लागि आम्दानीको नयाँ ढोका खोलेको छ । यस विषयमा प्रविधि क्षेत्रमा सक्रिय राजेन्द्र अर्यालले मेटा टिमसँग सम्पर्क गर्दा कम्पनीले नेपालमा फेसबुक कन्टेन्ट मनिटाइजेसन औपचारिक रूपमा सुरु भएको पुष्टि गरेको हो । सोमबारदेखि मेटाले आफ्नो वेबसाइटमा नेपाललाई आधिकारिक रूपमा सूचीकृत गरेको हो ।

यससँगै योग्य सबै नेपाली क्रियटरले यो सुविधाका लागि आवेदन दिन सक्नेछन् । फेसबुक पेज वा प्रोफाइललाई प्रोफेसनल मोडमा परिणत गरेका क्रियटरलाई फेसबुकले कन्टेन्ट मनिटाइजेसनको सुविधा उपलब्ध गराइरहेको छ ।

अब फेसबुकको मनिटाइजेसनका लागि योग्य भएका नेपाली प्रयोगकर्ताले आफ्नो कमाइ सिधै नेपालको बैंक खातामा प्राप्त गर्न सक्नेछन् । यसका लागि प्रयोगकर्ताले आफ्नो पेआउट अकाउन्ट सेटअप गर्दा देशमा ‘नेपाल’ छनोट गरी आफ्नो बैंक खाताको विवरण भर्नुपर्नेछ ।

मेटाबाट यस्तो इन्भिटेसन पाउने क्रियटरले मेटा बिजनेस सुइट र प्रोफेसनल ड्याशबोर्डबाट पेआउट सेटअप गर्न सक्नेछन् । यतिबेलासम्म पनि इन्भिटेसन नपाएका प्रयोगकर्ताले भने यहाँ क्लिक गरेर अनुरोध गर्न सक्नेछन् । 

यसरी कन्टेन्ट मनिटाइजेसनका लागि योग्य क्रियटरले पेआउट सेटअप गर्न सक्छन् । त्यस्तै क्रियटरले पार्नर मनिटाइजेसन पोलिसी र कन्टेन्ट मनिटाइजेसन पोलिसी पूर्ण रूपमा पालना गरेको हुनुपर्छ । यसरी कुनै पनि नीति उलङ्घन नगरी निरन्तर सञ्चालन गर्दै आइरहेका क्रियटरलाई मेटाले रकम उपलब्ध गराउँछ । क्रियटरले राख्ने भिडिओ, रिल्स, स्टोरी र टेक्स्ट फोटोका आधारमा मेटाले कति रकम दिने भन्ने निर्धारण गर्छ । भिडिओबाट आम्दानी गर्नका लागि भने उक्त भिडिओ कम्तिमा पनि १५ सेकेन्डको हुनुपर्छ । 

कन्टेन्ट मनिटाइजेसनका लागि पेज योग्य छ कि छैन भन्ने थाहा पाउन मोबाइलमा फेसबुक पेज खोल्नुहोस् । अनि प्रोफेस्नल ड्याशबोर्डमा जानुहोस् । र, मनिटाइजेसनमा गएर कन्टेन्ट मनिटाइजेसन अप्सन छान्नुहोस् । 

त्यसपछि टर्म्स एन्ड कन्डिसन एसेप्ट गरेर भुक्तानीको विवरण भरी ‘कम्प्लिट’ सेटअप गर्न सक्नुहुन्छ । कम्प्युटरमा मेटा बिजनेस सुइटमा गएर यही प्रक्रिया अपनाउन सक्नुहुन्छ ।



Post a Comment

0 Comments