सुमना श्रेष्ठको रास्वपा परित्यागले जेन–जीभित्र खैलाबैला, मन्त्री बनाउन नहुने उठ्यो आवाज
दलीय व्यक्तिविहीन र राम्रो छवि भएकालाई सहभागी गराएर सरकार गठन गर्ने आन्दोनरत शक्ति जेन–जीको उद्देश्यविपरीत सुमना मन्त्री बन्ने चर्चा भइरहेको छ ।
पार्टी परित्याग गर्नु र आवद्ध हुनु स्वयं व्यक्ति वैयक्तिक स्वतन्त्रता हो । तर, आइतबार एकाएक उनले पार्टी परित्याग घोषणा गर्नु सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारमा सहभागी हुने उद्देश्यको रुपमा हेरिएको छ ।
सभापति रवि लामिछाने कारागारमा रहेका र देश कठिन मोडमा उभिएका बेला उनले रास्वपा परित्याग गरेकी छन् । लोकतन्त्रको सुन्दर पक्ष मानिने दलीय राजनीति ‘संगीन’ मोडमा पुगेका बेला उनले पार्टी परित्याग गर्नुलाई मन्त्री बन्नका लागि आफूलाई ‘अवसरवादी’को कित्ता उभ्याएको टिप्पणी हुन थालेको छ ।
जुन पार्टीले आफूलाई राजनीतिक परिचय मात्र दिएन, सशक्त नेतृको रूपमा समेत उभ्यायो, सोही पार्टी कठिन अवस्थामा रहँदा लान्छित् गरेर उनले पार्टी परित्याग गरिन् । जसलाई मन्त्री बन्नका लागि अवसर छोपेको आरोप लागिरहेको छ ।
पार्टीमा छँदा चुपचाप लागेकी उनले परित्याग गर्ने बेलामा भने पार्टीलाई लान्छना गरेकी छिन् । ‘कहिलै गल्ती नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो । यो स्वीकार्य छैन,’ उनले भनेकी छन्, ‘अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । आई क्वीट । मैले पार्टी छोडेँ ।’
यतिमा भनेकी छैनन् । उनले थप भनेकी छिन्, ‘कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढी तपाईहरूको नेतृत्वको बहेराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।’
उनको यो अभिव्यक्ति कार्की नेतृत्वको मन्त्री बन्नका लागि भन्ने चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ । तर, विवादित समेत रहेकी सुमनालाई मन्त्री बनाउन नहुने जेन–जीभित्र कुरा उठ्न थालेको छ । उनको पार्टी परित्यागले जेन–जीभित्र खैलाबैलाको स्थिति निम्त्याएको छ ।
शिक्षा मन्त्री हुँदा देखिने गरी राम्रो काम गरेको भए पनि उनले नदेखिने गरी निजीलाई फाइदाका काम गरेको आरोप छ । उनले आफू शिक्षा मन्त्री हुँदा नेपालका हजारौं दर्ता नगरेका र राज्यलाई कर नतिरेका एजुकेशन कन्सल्टेन्सीहरुलाई करै नतिराइ फ्रीमा नवीकरण गराइदिएकी छन् । त्यसबाट राज्यले कति कर गुमायो, यसको लेखाजोखा छैन ।
राष्ट्रको हितविपरीत व्यक्तिगत र समूहगत स्वार्थले सरकार चलाउँदा मुुलुकको उन्नति नभएको भन्दै भएको आन्दोलनले जन्मिएको वर्तमान सरकारमा सुमनालाई अवसर दिँदा आलोचित हुने भन्दै केही जेन–जी समूहकै व्यक्ति विरोधमा छन् ।
0 Comments