बेपत्ता १६ हायु परिवार यस्तो अवस्थामा भेटिए, घर फर्कन मानेनन्, घर छोड्नुको कारण यस्तो छ

 बेपत्ता १६ हायु  परिवार यस्तो अवस्थामा भेटिए, घर फर्कन मानेनन्, घर छोड्नुको कारण यस्तो छ 

साउन १२ गते सिन्धुलीको गोलञ्जोर गाउँपालिका-६ का जङ्गल छेउ एकान्तमा रहेको घरबाट उर्मिला हायुसहित परिवारका १६ सदस्य सम्पर्कविहीन भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालय र जिल्लास्थित सबै सुरक्षा निकायले दिनभर र राति अबेरसम्म खोज तलासलाई तीव्र बनाएका थिए ।


त्यसक्रममा विभिन्न अड्कलबाजी गर्दै घर वरपरको जङ्गल, सम्भावित दुर्घटना हुनसक्ने स्थल, माइतीमावल, नातागोता र अरु आफन्तजनसँग जानकारी लिने र सम्पर्क कायम गरी बुझ्ने कार्य दिनभर भइरह्यो । परिवारका साबै घरबाट ठ्याक्कै कहिले बाहिरिए भन्नेबारे घर वरपरका कसैबाट यकीन जानकारी आउन सकेन



यही साउन ६ गते खुर्कोटस्थित हिमालयन बैंकबाट सामाजिक सुरक्षाभत्ता झिकेको तथा ९ गते वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको सुरक्षा टोलीलाई सूचना प्राप्त भएको जनाइएको छ । त्यसलगत्तै उनीहरूको पछिल्लो पटक गत शुक्रबार साँझ ७ बजेर २८ मिनेटमा नेपाल टेलिकम रामेछापको टावरसँग मोबाइल सम्पर्क भएको सूचना सुरक्षा टोलीले प्राप्त गर्यो ।


वर्षात्को मौसम भएकाले विपद्मा पर्नसक्ने पाटो, विदेशबाट भर्खर छोरा आएको र सामाजिक सुरक्षाभत्ताको रकमसमेत झिकेकाले कसैको गलत दृष्टि रह्यो की भन्ने कोणबाट पनि सुरक्षा विश्लेषण गर्दै सुरक्षा टोलीले खोजतलासलाई दिनभर तीव्र बनाएको हो ।


सम्पर्कविहीन हायुको घरमा केही परिमाणमा सुँगुरको मासु फेला परेकाले छोरो विदेशबाट आएको र भत्ता बुझेको खुसियालीमा रमाइलो गर्दै कतै घुमघाममा निस्केका वा आफन्तजन भएका ठाउँमा जानसक्ने पक्षलाई महत्त्व दिएर विश्लेषण गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।


अनुमान गरिएजस्तै स्थानीय बलेनीबाट गाडी रिजर्भ गरी सिन्धुली, हेटौंडा, मु‌ङ्लिन हुँदै हायु परिवार पोखरा पुगेको प्रहरीको भनाइ छ । हायु परिवारलाई पोखरा पुऱ्याएर त्यहाँस्थित जननी होटलमा छोडेको भन्ने सवारी चालकबाट सूचना प्राप्त भएपछि जिल्ला प्रशासन र जिल्ला प्रहरीले पोखरा खबर गरेको थियो ।


सोही आधारमा हायु परिवारलाई सोमबार साँझ अबेर प्रहरीले पोखरामा फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार हायु परिवारका सबै जना पोखरा प्रहरीको सम्पर्कमा आएका छन् ।


अर्कातर्फ हायु परिवार सम्पर्कविहीन भएको घटनालाई दिनभरजसो सबै सञ्चारमाध्यमले प्राथमिकताकासाथ प्रचारप्रसार गरेका थिए भने हायु परिवार सम्पर्कविहीन भएको घटनालाई विभिन्न अड्कलबाजी गरिएको थियो ।


घरबाट बाहिरिँदा हायु परिवारले घरमा बाँधिएका छ वटा बाख्रा छोडेर गएका थिए । ती पशुको अवस्था हेर्दा हायु परिवारले एक-दुई दिनअघि मात्र घर छोडेको पूर्वअनुमान गरिएको थियो ।घरभन्दा केही पर भैँसी गोठमा भैँसीलाई घाँस हाल्न कोही नआएपछि छिमेकीले खोजी गरेका थिए।


खोजतलासका क्रममा बाख्रा र कुकुरलाई कसैको जिम्मा नलगाइ किन परिवार बाहिरियो होला भन्ने प्रश्न पनि आफैंमा गम्भीर बन्न पुगेको थियो । उनीहरू खोरमा बाख्रा बाँधेर तथा कुकुर घरमा छाडेर वरपर कसैलाई पनि जानकारी नदिएर पोखरा घुम्न निस्केका घटनाले पुष्टि गरेको छ।


उर्मिला हायुका श्रीमान् पनि केही वर्षअघि बेपत्ता भएकामा जङ्गलमा भेटिएको अस्थिपञ्जरबाट मृत्यु भएको अनुमान गरिएको छ । सम्पर्कविहीन भएका हायु परिवारका १६ सदस्यमध्ये १६ वर्ष मुनिका आठ जना थिए भने घरमुली उर्मिला ५२ वर्षकी हुन्


फेला परेको हायु परिवारका १६ जना सदस्यहरूः

१. उर्मिला हायु

२. कमला हायु

३. कोमल माया हायु

४. अस्मिता हायु

५. शान्ता हायु

६. राजु हायु

७. उषा हायु

८. हिमाल हायु

९. लाल बहादुर हायु

१०. बहादुर हायु

११. लक्की हायु

१२. सुवर्ण हायु

१३. ओम कुमारी हायु

१४. अर्जुन हायु

१५.रियासा हायु

१६. पूर्ण हायु

उनीहरूले घर छोड्नुको मुख्य कारण भनेको लघुवित्त तथा सहकारीबाट लिएको ऋण तिर्न नसक्नु र घरमा ऋण उठाउन बैंकका मान्छेहरु धाई बसेको कारण र उनीहरु दैनिक मजदुरी गरेर गुजारा चलाउने परिवार भएको कारण दुर्गम ठाउँ भएको कारण काम नपाउँदा उनीहरुलाई दैनिक गुजारा चलाउन समेत हम्मेहम्मे परेको आफन्तहरु पनि वरिपरि नभएको एकान्तमा एक्लै बस्नु परेको पीडा र बिरामी पर्दा उपचार गर्न समेत ठाउँ नभएको र एक बोरा चामल किनेर ल्याउन दिनभरि लाग्ने जस्ता घटनाले उनीहरुलाई उक्त ठाउँ छोडेर हिँड्न बाध्य भएको बताउँदै अब दैनिक मजदुरीको काम यतै खोजेर गुजारा चलाउने साथै यतै बस्ने ठाउँको खोजी गरिरहेको बताएका छन् र अब सिन्धुली आफ्नो घर नफर्कने अडान राखेको कारण प्रहरीले अहिले बस्दै आएको घर मालिकलाई जिम्मा लगाएर छोडेको छ





Post a Comment

0 Comments