प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा गैरसरकारी संस्थाको ‘मानव तस्करी’ धन्दा, भयो प्रमाण सार्वजनिक

 प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा गैरसरकारी संस्थाको ‘मानव तस्करी’ धन्दा, भयो प्रमाण सार्वजनिक

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गएको कार्यक्रमका सहभागी बनाएर मानव तस्करीमा संलग्न गिरोहले असम्बन्धित युवालाई स्पेन पुर्‍याएको भेटिएको छ ।

संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त (फाइनान्सिङ अफ डेभलपमेन्ट) को चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा गैरसरकारी संस्थातर्फबाट सहभागिताका लागि रजिष्ट्रेसन गराएर उनीहरूलाई युरोप प्रवेश गराएको पाइएको हो ।

स्पेनबाट सम्पर्कमा आएका एक जना युवाले आफूहरूलाई ३० जुनदेखि २ जुलाई २०२५ सम्म चलेको सम्मेलनमा सहभागी गराउने र त्यहीँ बस्ने व्यवस्था मिलाउने भन्दै रकम लिइएको बताए ।

‘चिनजान भएका व्यक्तिले मलाई स्पेन जाने अफर गरेका थिए’, उनले ह्वाट्सएपमा जोडिएर भने, ‘ती व्यक्तिले मलाई स्पेनमा यूएनको कार्यक्रम रहेको र त्यसमा रजिष्ट्रेसन गराएर लैजाने भनेका थिए, प्रधानमन्त्री पनि त्यसमा सहभागी हुँदै हुनुहुन्छ भन्ने चाहिँ बताएका थिएनन् ।’

कार्यक्रम सम्पन्न भई प्रधानमन्त्रीसहितको टोली नेपाल फर्किएपछि यससँग जोडिएको एक गम्भीर विषयले संसदमा प्रवेश पायो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रममा गएकामध्ये केही मानिसहरू नफर्किएको भन्दै मिति असार २४ गते प्रतिनिधि सभामा यसबारे प्रश्न उठाइन्।

सांसद गौतमले विदेश गएकाहरू नफर्किएको विषय सार्वजनिक गरेपछि संसदमा सत्तापक्ष र प्रतिपक्षबीच आरोप-प्रत्यारोप चलेको थियो।

एमालेका सांसद महेश बर्तौलाले सांसद गौतमको भनाइको प्रतिवाद गर्दै सबै फर्किएको दाबी गरे। यसैक्रममा, हिजो परराष्ट्र मन्त्रालयले एक सूचना जारी गर्दै प्रधानमन्त्रीको टोलीसँग स्पेन गएका सबै व्यक्तिहरू स्वदेश फर्किएको दाबी गर्यो।

तर, यसै कार्यक्रमको आवरणमा केही व्यक्तिलाई मानव तस्करीको उद्देश्यले नक्कली कागजात बनाएर स्पेन पठाउन एउटा संगठित गिरोह सक्रिय रहेको डरलाग्दो तथ्य खुलासा भएको छ।

नेपालमा स्पेनको राजदुतावास नरहेको र नयाँ दिल्लीस्थित स्पेनको दुतावासले नेपालको काम हेर्ने गरेको छ। दिल्लीस्थित दुतावासका अनुसार, स्पेन जान चाहने केही नेपाली नागरिकले आफूहरू स्पेनको सेभिया शहरमा युएन सम्मेलनमा सहभागी हुन लागेको दाबी गर्दै भिसा आवेदन दिएका थिए।

तर, दुतावासले गरेको प्रारम्भिक जाँचपछिको निष्कर्षअनुसार, तीमध्ये कोही पनि आफ्नो काम वा सम्मेलनबारे प्रष्ट रूपमा केही भन्न सकेका थिएनन्। भिसा आवेदकहरूसँग गैरसरकारी संस्थाको नक्कली सिफारिसपत्र र युएन सम्मेलनको भनिएको तर आधिकारिक रूपमा पुष्टि नभएको कागज मात्र भेटिएको दुतावासको सूचनामा उल्लेख छ।

यसरी नक्कली कागजात प्रयोग गरी स्पेन जान खोज्ने नेपालीहरूको कागजात शंकास्पद देखिएपछि दुतावासले एयरलाइन्सहरूलाई यात्रुहरूलाई बोर्डिङ अनुमति दिनुअघि सम्बन्धित अफिसरसँग समन्वय गर्न विशेष निर्देशन दिएको थियो।

यही निर्देशन र दुतावासको सक्रियताका कारण मिति असार १४ गतेकै रात, युरोप जाने तयारीमा रहेका ५५ जना नेपाली यात्रुहरूलाई विभिन्न विमान कम्पनीहरूले बोर्डिङ पास दिनुअघि नै रोकेका थिए।

उनीहरूको कागजात नक्कली रहेको पाइएपछि अन्तिम समयमा भिसा रद्द गरिनुका साथै यात्रा रोकिएको थियो। रोकिएका यी ५५ जना नेपालीहरूको विस्तृत विवरण र नामावली उकेराले फेला पारेको छ।

यति मात्र होइन, उही दिन बिहान दिल्ली विमानस्थलबाटै अर्को ९ जनाको समूह पनि कतार एयरवेजको विमान चढ्न खोज्दा रोकिएको थियो। उनीहरूको कागजात र यात्राको उद्देश्य पनि शंकास्पद पाइएको थियो। यस प्रकरणमा गैरसरकारी संस्थाहरूको संलग्नता पनि देखिएको छ।

नेपाल क्लिक्सले प्रकाशित गरेको समाचार अनुसार, ‘समाज परिवर्तनका लागि एकता (सीएससी)’ नामक एउटा गैरसरकारी संस्थाले जनकबहादुर टमटा नामका व्यक्तिलाई स्पेनको कार्यक्रममा सहभागी हुनका लागि भन्दै दिल्लिस्थित स्पेनी दूतावासलाई सिफारिसपत्र लेखेको पाइएको छ।



Post a Comment

0 Comments