भत्ता पाएपछि एकै परिवारका १६ जना सम्पर्कबिहीन, खाेज्दै प्रहरी
गत शुक्रबारदेखि स्थानीय हायु परिवारका १६ जना सम्पर्कबिहीन भएको सूचना आएको सिन्धुलीका प्रहरी उपरीक्षक(एसपी) लालध्वज सुवेदीले बताए ।
साउन ८ मा (बिहीबार) स्थानीय निकायले लोपोन्मुख हायु समुदायले पाउने भत्ता बापतको रकम वितरण गरेको थियो । उनीहरुले प्रतिव्यक्ति ४ हजारको दरले एकैपटक भत्ता रकम बुझेका थिए ।
बेपत्ता हुनेमा उर्मिला हायु र उनका ६ छोरा, ६ छोरीसहित छन् । उनीहरूको खोजीमा प्रहरी परिचालन गरिएको एसपी सुवेदीले जानकारी दिए । उनले भने, ‘सो क्षेत्रमा विपद्को घटना पनि भएको छ, उहाँहरुको खोजी हुँदै छ ।’
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले घटना रहस्यमय देखिएको बताए । 'हामी पनि अचम्मित भएका छाैँ । खोजीका लागि प्रहरी परिचालित छ,' भुसालले भने ।
उनका अनुसार बेपत्ता भएकामध्ये एक जनाको मोबाइल रामेछापबाट स्वीच अफ भएको पाइएको छ । 'मोबाइलको लोकेसन ट्र्याक गर्दा रामेछापबाट स्वीच अफ भएको देखियो,' उनले भने, 'थप बुझिँदै छ ।'
गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायूको १६ जनाको परिवार सोमबार बिहानदेखि बेपत्ता छन् ।
उनीहरुको मोबाइल ट्रेस गर्नेक्रममा प्रहरीले अन्तिम लोकेसन रामेछाप नगरपालिका–९ सिमन्दीछाप भन्ने स्थानमा देखिएको हो ।
बेपत्ता परिवारका सदस्यको मोबाइल अफ हुनुअघि अन्तिम लोकेसन पत्ता लागेपछि त्यहाँ रहेको हुनसक्ने आशंकाले प्रहरी घटनास्थलतर्फ गएको छ ।
तर, सिमन्दीछाप क्षेत्रको टावरबाट सिन्धुलीमा उनीहरुको घर भएको क्षेत्रमा कभरेज टिप्ने भएकाले पनि देखाएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोलाकुमार भट्टले जानकारी दीए ।
बिशेषगरी हायू समुदायको बसोबास रहेको रामेछाप नगरपालिकाको ८ र ९ मा प्रत्येक घरमा प्रहरी पुगेर खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
0 Comments