शिक्षामन्त्री भट्टराईको राजीनामा : कारक प्रधानमन्त्री

शिक्षामन्त्री भट्टराईको राजीनामा : कारक प्रधानमन्त्री यसकारण दिइन् मन्त्री भट्टराईले राजीनामा

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएकी छन् । शिक्षक आन्दोलनलगायत पछिल्ला शैक्षिक घटनाक्रमका कारण चौतर्फी दबाबमा रहेकी शिक्षामन्त्री भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।

शिक्षक आन्दोलन र स्वास्थ्य समस्या कारण मन्त्री भट्टराईले राजीनामा दिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार आइतबारसम्म दैनिक काम गर्न मन्त्रालय आएकी उनी सोमबार भने मन्त्रालयले नै आएकी थिइनन् । अकस्मात् राजीनामा दिएको खबर आएपछि मन्त्रालयका कर्मचारी नै चकित परेका छन् । 

मन्त्रालय स्रोतले भन्यो, ‘आइतबार मन्त्री ज्यू दैनिक काममै हुनुहुन्थ्यो । आज भने बिहानदेखि नै मन्त्रालय आउनु भएको थिइन् । हामीले पनि राजीनामा दिएको खबर सुन्यौँ । तर, हिजोसम्म राजीनामा दिने कुराको कुनै सुइँको पाएका थिएनौँ ।’

शिक्षा मन्त्रालयका एक कर्मचारीका अनुसार आज बस्ने मन्त्रिपरिषद्को बैठकमा मन्त्रालयबाट शिक्षक आन्दोलनसम्बन्धी तयार पारिएका सात बुँदा मन्त्रिपरिषदमा पठाइएको थियो । ती कर्मचारीले भने, ‘मन्त्री ज्यूले राजीनामा दिने कुनै जानकारी दिएन । हिजो नियमितरूपमा काम गरिरहनु भएको थियो । आज एक्कासि राजीनामा आयो । आज बस्ने भनेको मन्त्रिपरिषद् बैठकमा मन्त्रालयले शिक्षक आन्दोलनसम्बन्धी तयार गरेका सात बुँदा मन्त्रिपरिषद्को कार्यालयमा समेत पठाइसकेको थियो ।’

प्रधानमन्त्री र मन्त्री भट्टराईबीच शिक्षक आन्दोलनलगायत विभिन्न विषयमा पछिल्लो समय कुरा मिलिरहेको थिएन ।

मन्त्री भट्टराई शिक्षक आन्दोलन र उनीहरूका मागप्रति सकारात्मक थिइन् भने प्रधानमन्त्री ओलीले भने बजेट अभाव, संविधान संशोधन गर्नुपर्नेलगायत कारण देखाउँदै शिक्षकका माग सम्बोधन गर्ने विषयमा आनाकानी गर्दै आइरहेको स्रोतको भनाइ छ ।

‘आज प्रधानमन्त्रीलाई भेटेर मन्त्री ज्यूले राजीनामा दिनुभएको हो । शिक्षक आन्दोलनको विषयमा पनि प्रधानमन्त्री र मन्त्रीबीच केही कुरा मिलिरहेको थिएन । अर्थसँग जोडिएका कुरा थिए । उहाँको स्वास्थ्यमा पनि केही समस्या देखिएको थियो,’ स्रोतले भन्यो । 

आन्दोलनरत शिक्षकले मन्त्रीसँग वार्ता गर्न नमान्ने र प्रधानमन्त्री ओलीले मन्त्रीलाई ‘बाइपास’ गरेर आफैं आन्दोलित शिक्षकलाई भेट्न थालेपछि मन्त्री भट्टराईले अपमान महसुस गरेको स्रोतको दाबी छ । यस्तै, पछिल्लो समय मन्त्री भट्टराईलाई स्वास्थ्यले पनि साथ दिइरहेको छैन ।  

उनले प्रधानमन्त्री ओलीसँग काम गर्ने वातावरण नदेखेपछि स्वास्थ्य समस्यालाई कारण देखाएर राजीनामा दिएको स्रोतको दाबी छ । स्रोतका अनुसार राजीनामा दिनुको मुख्य कारण स्वास्थ्य समस्या मात्रा होइन ।

लामो समयदेखि शिक्षक सडकमा रहनु, कक्षा १२ को परीक्षा अन्योलमा पर्नु तथा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन पनि प्रभावित हुने देखिएपछि जतिसक्दो चाँडो आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने मनसायमा शिक्षामन्त्री थिइन् । तर, प्रधानमन्त्री ओलीले शिक्षकका माग मुद्दालाई उपेक्षा गर्दै आन्दोलनप्रति अनविज्ञता प्रकट गर्दा शिक्षामन्त्री असफल भएको जस्तो देखिएपछि मन्त्री भट्टराई प्रधानमन्त्रीसँग असन्तुष्ट थिइन् ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको राजीनामा स्वीकृतिको विषयमा पनि शिक्षामन्त्री भट्टराईले चित्त बुझाएकी थिइनन् । उनी उपकुलपति बरालको राजीनामा स्वीकृत गर्न नहुने पक्षमा रहेको स्रोतको भनाइ छ ।

त्यस्तै, मन्त्री भट्टराईले प्रधानमन्त्री ओलीबाट मात्र नभएर अर्थमन्त्री विष्णु पौडेलदेखि आफ्नै मन्त्रालयका सचिव दीपक काफ्लेसम्मबाट असहयोग झेल्दै आएको स्रोत बताउँछ ।

शिक्षामन्त्रीले राजीनामा दिएसँगै शिक्षक आन्दोलन, कक्षा १२ को परीक्षा, एसइईको नतिजा प्रकाशन, नयाँ शैक्षिक सत्र सञ्चालनका कार्यक्रम थप अन्योलमा परेका छन् । मन्त्रालयमा काम गर्ने वातावरण नपाएपछि शिक्षामन्त्री भट्टराईले त नैतिकता देखाउँदै राजीनामा दिएकी छिन् । तर, उनको राजीनामा सँगै शैक्षिक क्षेत्र थप अस्तव्यस्त बन्ने देखिएको छ ।

प्रधानमन्त्री ओलीको नजरमा नैतिकता देखाएर राजीनामा दिएकी भट्टराई अब पार्टी राजनीतिमा ‘कर्नर’ मा पर्ने निश्चित छ । किनकि ओलीलाई नैतिकरूपमा बलियो भएका मानिस फिटिक्कै मन पर्दैन । यसको पछिल्लो उदाहरण डा. भीम रावलदेखि उषाकिरण तिमिल्सिनासम्मलाई लिन सकिन्छ ।

गत ३१ असारमा पहिलोपटक मन्त्री बनेकी भट्टराई दिवंगत पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् ।




Post a Comment

0 Comments