सगरमाथा-ल्होत्से चढेर चर्चा पाएकी कविता नेपालीले हिमालमै गरिन् अवैध बेटिङ प्लेटफर्मको प्रचार
विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्सेको लगातार आरोहण गरी चर्चामा आएकी पर्वतारोही तथा कलाकार कविता नेपालीले अवैध अनलाइन सट्टेबाजी प्लेटफर्म ‘मेलबेट’को प्रचार गरेको पाइएको छ । जेठको पहिलो साता आठ हजार मिटरभन्दा अग्ला दुई शिखर आरोहण गरेकी नेपालीले आफ्नो यात्रा संस्मरणलाई समेटेर २४ अक्टोबरमा सार्वजनिक गरेको डकुमेन्ट्री ‘नो लिमिट्स’ मा गैरकानुनी बेटिङ प्लेटफर्मको विज्ञापन गरिएको पाइएको हो ।
उक्त डकुमेन्ट्रीमा कविता नेपालीले दुई पटक ‘मेलबेट’ को स्पष्ट प्रचार गरेको देखिन्छ । भिडिओको १८ मिनेट ५४ सेकेन्डदेखि १८ मिनेट ५७ सेकेन्डसम्म उनले ‘मेलब्याट’ को लोगो अङ्कित थर्मस देखाएकी छिन् । मेलब्याट नेपालमा अवैध रूपमा अनलाइन सट्टेबाजी प्लेटफर्म सञ्चालन गर्दै आएको मेलबेटकै कम्पनी हो । कानुनी छिद्रको फाइदा उठाउँदै सरोगेट विधिबाट उक्त प्लेटफर्मले आफ्नो प्रचार गर्दै आएको देखिन्छ ।
यसका साथै भिडिओको अन्तिममा कविताले आरोहणका लागि आर्थिक तथा अन्य सहयोग गर्ने कम्पनी तथा प्लेटफर्मको नाम र लोगो राखेकी छिन् । त्यसमा भने अवैध सट्टेबाजी प्लेटफर्म ‘मेलबेट’ कै लोगो राखिएको देखिन्छ । भिडिओमा भने उनले कतै पनि मेलबेटको नाम लिएको देखिंदैन ।
मेलबेट त्यही अवैध सट्टेबाजी प्लेटफर्म हो, जसले नेपाली युवालाई अनलाइन जुवामा आकर्षित गर्न अनेक तवरले काम गरिरहेको छ ।
यसअघि कान्तिपुर मिडिया ग्रुपद्वारा सञ्चालित कान्तिपुर म्याक्स एचडी लगायत अन्य केही सञ्चारमाध्यम उक्त प्लेटफर्मको प्रचार गर्दा विवादमा तानिएका थिए ।
नेपालमा जुवा तथा सट्टेबाजी पूर्ण रूपमा प्रतिबन्धित रहे पनि मेलबेट लगायतका प्लेटफर्म फरक फरक डोमेन सञ्चालनमा ल्याएर लाखौं नेपाली प्रयोगकर्तामाझ पुगिरहेका छन् ।
जेठमा प्रकाशित गरेको समाचार अनुसार त्यसबेला उक्त प्लेटफर्ममा मासिक आठ लाख ८५ हजारभन्दा बढी भिजिटर आउने गरेका थिए । त्यसमध्ये ९९ प्रतिशत नेपालका ट्राफिक थिए । हाल नेपालमा यस प्लेटफर्ममा आउने ट्राफिकको सङ्ख्या कम हुँदै गएको देखिए पनि नजिकिंदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल) लक्षित गर्दै यस प्लेटफर्मले आफ्नो आक्रामक प्रचार थालेको छ ।
प्रतिबन्धित हुँदाहुँदै पनि कारोबार सहज देखाउन मेलबेटले नेपाली डिजिटल वालेटको लोगो समेत प्रयोग गरिरहेको देखिन्छ । वेबसाइटको फुटरमा खल्ती, इसेवा, सेलपे, आइएमई पे, कनेक्ट आईपीएस, प्रभु पे, माई पे, मोरु पेजस्ता स्थानीय वालेटहरूको लोगो राखिएको छ ।
कानुनतः नेपालको जुवा ऐन २०२० को दफा ३ ले जुवा खेल्न वा खेलाउन पूर्ण रूपमा रोक लगाएको छ भने जुवा ऐन २०२० को दफा ४ मा मनाही गरेका काम गर्नेलाई सजाय हुने व्यवस्था उल्लेख छ । यसका साथै विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ को दफा ५ को उपदफा १ को (ख) ले जुवा खेल्न खेलाउन वा प्रचलित कानुन बमोजिम अनुमति नलिएको चिठ्ठा किन्न किनाउन प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न नहुने व्यवस्था गरेको छ ।



0 Comments