सुशीलाको ४ मन्त्री मण्डलमध्ये २ को शपथ ग्रहण सकियो २ को मुखैबाट उम्कियो
मन्त्री बन्न लागेकाहरु यी चार जना को हुन् ?
डा. सुधा शर्मा स्वास्थ्य मन्त्रालयको पूर्व सचिव हुन् । उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । उनले ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तक समेत लेखेकी छन् ।
यसअघि सम्भावित स्वास्थ्य मन्त्रीको रुपमा स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव संगीता कौशल मिश्राको नाम चर्चामा थियो । त्यसअनुसार उनले पदबाट राजीनामा समेत दिएकी थिइन् । तर उनीमाथि अख्तियार दुरुयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा अनुसन्धान गरिरहेको थाहा पाएपछि प्रधानमन्त्री सुशीला कार्की पछि हटेकी थिइन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही कात्तिक २ गते मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यद्यपि प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रीको जिम्मेवारी महिला पूर्वस्वास्थ्य सचिवलाई नै दिने निर्णय गरेकी छन् ।
यसैगरी गणपतिलाल श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुन् । उनले रानीपोखरी, बसन्तपुर दरबार क्षेत्र लगायतका सम्पदा संरक्षणमा सह्रानीय भूमिका निर्वाह गरेका छन् । सम्पदा संरक्षण अभियानबारे गणपतिले विश्वचर्चित अक्सफोर्ड युनिभर्सिटीमा गएर समेत प्रस्तुति दिइसकेका छन् ।
खगेन्द्र सुनार दलित अधिकारकर्मी हुन् । संवैधानिक पद र राजनीतिक नियुक्तिमा दलित प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै नेल लगाएर काठमाडौंमा प्रदर्शन गरेका थिए ।
खगेन्द्र दलित अधिकारको पक्षमा यसअघि पनि पटक–पटक धर्ना, प्रदर्शन र आन्दोलनमा सहभागी भएका छन् । ०७७ जेठ ११ गते रुकुम पश्चिममा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या लगत्तै खगेन्द्रले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको गेटमा भोकै सुतेर आन्दोलन गरेका थिए । उनले यो मुद्दाको सुनुवाइ चलिरहेका बेला जिल्ला अदालत रुकुमपश्चिमको गेटमा १० दिनसम्म धर्ना दिएका थिए ।
बब्लु गुप्ता सामाजिक कार्यक्रममा सक्रिय छन् । उनले कोभिडकालमा नि:शुल्क खाना अभियान चलाएका थिए । कोभिड महामारी अघि बब्लुले विपन्न र आर्थिक अवस्था कमजोर भएका मानिसका लागि कपडा बैंक अभियान चलाएका थिए । उनी ‘हन्ड्रेड ग्रुप’ मार्फत विद्यार्थीहरुलाई पढाइरहेका उनी बिरामीका लागि आवश्यक रगत खोजिदिने सारथि समेत हुन् ।
मन्त्रीको शपथ लिने तयारीमा रहेका खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ रोकिएका छन् । सुनारको विवादित पृष्ठभूमिबारे सार्वजनिक भएपछि शपथ लिने तयारी भएकै बेला प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयमा पुर्याएको नाम फिर्ता गरेको हो । त्यस्तै श्रेष्ठको नाम पनि फिर्ता गरिएको छ । खनालले श्रेष्ठलाई मन्त्री पदमा तत्काल शपथ नगराउनुको कारण भने ‘पोर्टफोलियो’ भनेका छन् । सुनारमाथि विभिन्न जिल्लामा दर्जनौँ मुद्दाहरू छन् । उनी फौजदारी कसुरमा अरोपित व्यक्ति हुन् । सामाजिक सञ्चालमा समेत उनी मन्त्री बन्न लागेको प्रति तीव्र आक्रोश देखिन्छ ।


0 Comments