नाम फेर्दै चर्चित व्यक्तिहरूको आवरणमा भ्रामक फेसबुक पेज सक्रिय, झुक्किए हजारौं प्रयोगकर्ता
काठमाडौँ । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालको नाममा नक्कली पेज सञ्चालनमा आएको पाइएको छ । ‘रामेश्वर खनाल फ्यान्स’ नाम राखेर एक पेजले अर्थमन्त्रीको नाम लिई विभिन्न सामग्री राखेको पाइएको हो ।
शनिबार उक्त पेजबाट ‘अर्थतन्त्र सुधारका लागि उपयुक्त सल्लाह दिनुहोला’ भन्दै पोस्ट राखिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा १३ हजारभन्दा बढी रियाक्सन, ३६ सयभन्दा बढी कमेन्ट र ८१ पटक शेयर भएको छ ।
कमेन्ट र शेयर गर्ने अधिकांशले यो पेज वास्तवमै अर्थमन्त्री खनालले सञ्चालन गरिरहेको ठानेर आफूलाई लागेका सुझाव दिइरहेका छन् ।
सन् २०१४ देखि नै सञ्चालनमा रहेको यस पेजले जुन व्यक्ति वा पार्टी चर्चामा आउँछ, उसैको नाम राख्ने गरेको देखिन्छ । यस पेजको नाम हालसम्म पाँच पटक परिवर्तन भएको ‘पेज ट्रान्सपरेन्सी हिस्ट्री’मा देखिन्छ ।
सन् २०२३ मा ‘राष्ट्रिय स्वतन्त्र पार्टी विदेशी युवा समर्थक’ राखिएको थियो भने पछि ‘राष्ट्रिय स्वतन्त्र पार्टी बौद्धिक समर्थक’ बनाइयो । त्यही वर्ष नाम फेरेर ‘रवि, बालेन, हर्क एकता अभियान’ राखियो । सन् २०२४ मा नाम फेरेर ‘सुमना श्रेष्ठ फ्यान्स’ राखियो भने सोही वर्ष ‘आशिका तामाङ फ्यान्स’ पनि बनाइयो ।
हालैको ‘जेनजी विद्रोह’पछि अन्तरिम सरकार गठन भएसँगै अर्थमन्त्रीमा रामेश्वर खनाल नियुक्त भएपछि यस पेजले आफ्नो नाम फेरेर ‘रामेश्वर खनाल फ्यान्स’ राखेको छ ।
हुन त कसैको समर्थन गर्दै फ्यान्स अकाउन्ट खोल्नु नराम्रो होइन, तर पोस्ट राख्दा स्पष्ट रूपमा खुलाउनुपर्ने मान्यता छ । तर, यस पेजले नाममा ‘फ्यान्स’ राख्नेबाहेक कतै पनि यो फ्यान्स अकाउन्ट हो भन्ने खुलाएको छैन ।
अमेरिकाबाट एउटा अकाउन्टले सञ्चालन गरिरहेको यस पेजमा यसअघि आशिका तामाङको नाम राखेर विभिन्न पोस्ट राखिँदै आएको थियो । उदाहरणका लागि २३ अगस्टमा यस पेजमा ‘मलाई छोरी सम्झेर माया गर्ने सबै बुवाहरूमा नमन’ भन्दै पोस्ट राखिएको थियो
यसरी नाम फ्यान्स अकाउन्ट राखे पनि यस पेजबाट बारम्बार भड्काउपूर्ण अभिव्यक्तिहरू आइरहेको देखिन्छ ।
आशिका तामाङले कतै पनि आफू निर्वाचनमा उठ्ने विषयमा स्पष्ट रूपमा खुलाएकी थिइनन् । तर, यस अकाउन्टले भने आशिका तामाङको नाम राख्दै बारम्बार निर्वाचनमा उठ्ने योजना बनाएको जस्ता पोस्ट राख्दै आएको भेटिन्छ । यही पेजबाट चर्चामा रहेका व्यक्ति र राजनीतिक दलको आवरणमा भ्रामक सूचना फैलाउनुका साथै जनमानसलाई भड्काउने काम भइरहेको देखिन्छ ।
0 Comments