अश्लील भिडिओको आडमा किशोरीमाथि ब्ल्याकमेल गरेको साइबर अपराध मिलापत्रमा टुङ्ग्याउँदा ह*त्या !

 अश्लील भिडिओको आडमा किशोरीमाथि ब्ल्याकमेल गरेको साइबर अपराध मिलापत्रमा टुङ्ग्याउँदा ह*त्या ! 

काठमाडौँ । शनिबार, ३ साउन २०८२ को मध्यरात । धनुषाको जनकपुरधामस्थित ‘एसपी एण्ड गेस्ट हाउस’को शान्त माहोल एउटा मोटरसाइकलको आवाजले बिथोल्छ । घडीले रातको ११:५० बजाउँदै थियो ।

बा ४५ प ४५८६ नम्बरको केटीएम मोटरसाइकलबाट १९ वर्षीया जुली झा र उनीसँगै विवाहित तथा दुई सन्तानका पिता, ३२ वर्षीय विमलेश यादव ओर्लिए । विमलेशले ‘शनि यादव’को नाममा गेस्ट हाउसको कोठा नं. १०२ बुक गरे । पहिलो तल्लाको त्यो कोठाभित्र बिताएका केही घण्टाले उनीहरूको जीवनलाई यस्तो भयानक मोडमा ल्याइदियो, जहाँबाट फर्किने कुनै बाटो नै थिएन । 

बिहानको करिब २:५७ बजे कोठा बाहिरको बार्दलीबाट विमलेशको रक्ताम्य र नग्न अवस्थाको शरीर भुइँमा खस्छन् । सीसीटीभी फुटेजमा कैद यो दृश्य कुनै क्राइभ मुभीको क्लाइमेक्स सिनभन्दा कम छैन । त्यसको केही मिनेटपछि ३:०४ बजे जुली हतार-हतार खाली खुट्टा भर्‍याङबाट ओर्लेर अन्धकारमा बिलाउँछिन् । प्रहरी घटनास्थल पुग्दा विमलेश जीवन-मरणको दोसाँधमा थिए । ड्युटीमा खटिएका प्रहरीले मोबाइलको क्यामेरा अघि विमलेशलाई केही कुरा सोधे । त्यसपछि विमलेश जुरुक्क उठे र एम्बुलेन्स भएको ठाउँतिर लागे । उनलाई तत्काल  प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइयो । तर, बिहान ७ः४५ बजे डाक्टरले विमलेशलाई मृत घोषित गरे ।

भोलिपल्ट दिउसो (आइतबार) अन्दाजी १२ बजे प्रहरीले हत्या आरोपमा जुलीलाई महोत्तरीको परौलबाट पक्राउ गर्‍यो । सतहमा यो एउटी युवतीले गरेको क्रूर हत्याको कथा जस्तो देखिन्छ । तर जब यसको पत्र-पत्र पल्टाइन्छ, तब चार वर्ष लामो अनैतिक सम्बन्ध, धोका, ब्ल्याकमेलिङ, साइबर अपराध, मानसिक यातना, सामाजिक दबाब र कानुनी उदासीनताको एक जटिल कहानी सामुन्ने आउँछ । विमलेश र जुली दुवै पक्षका आआफ्नै दाबी छन् । तर्क पनि आ-आफ्नै छन् । परिवार र आफन्त आ-आफ्नाकै बचाउमा उभिएका छन् । के भन्छन् उनीहरूका परिवार ? के थियो पार्श्व कथा ?

प्रेम, धोका र त्रासदी

जुलीकी दिदी मञ्जु झा (नाम परिवर्तन) को नजरमा उनकी बहिनी एक होनहार विद्यार्थी थिइन् । प्रहरीको जागिर खान कम्मर कसेकी उनले कुनै दिन सल्युट गर्दै प्रहरीको टोपी आमा बुबाको सिरमा पहिराइदिन चाहेकी थिइन् । तर, हत्यारा र अपराधीलाई लगाउनु पर्ने हतकडी कुनै दिन आफ्नै हातमा लाग्ला भन्ने कल्पनासम्म गरेकी थिइन्, सायद । 

एसईईमा ‘ए’ ग्रेड ल्याएकी जुली पढाइमा अब्बल थिइन् । कक्षा ११ कक्षामा भर्ना भएकी उनी पढ्न भनेरै घरबाट केही टाढा रहेको जनकपुर-४ को एक घरमा डेरा लिएर बस्न थालिन् । 

त्यसैताका फेसबुकमा आएको एउटा फ्रेन्ड रिक्वेस्टले जुलीको जीवनलाई गलत मोड दिइसकेको थियो । १५-१६ वर्षकी उनीसँग अविवाहित, बाहुन परिवारको र यातायात कार्यालयको खरिदार भनेर चिनाएका विमलेश साथीको रूपमा नजिकिए । मञ्जु भन्छिन्, “साथी बनेपछि अनेक बहानामा बहिनीलाई फकायो । उसले पनि सबै कुरा पत्याई ।”

किशोरावस्थाको मस्तिष्क, बाबु आमाले खोजेकै जस्तो युवक भेटिएको ठानेकी जुली पनि उनीसँग आकर्षित भइन् । साथीबाट कति छिटो प्रेमी-प्रमिका बने, पत्तै पाइनन् । दिनहुँ कुराकानी हुन थाल्यो । आफूले बिताएका हरपल एक अर्कासँग बाँड्ने क्रम सुरु भयो । व्यवस्थापन सङ्कायकी जुलीलाई पढाई अगाडि बढाउनु खासै चुनौतीपूर्ण लागेको थिएन । सबै कुरा सोचे जस्तै अघि बढिरहेको थियो । मनका कुरा सनिदिने, पीडाहरू बुझिदिने, हौसलासँगै साथ दिने प्रेमी भेटेकी थिइन्, वा भनौँ जुलीलाई यस्तै लाग्थ्यो । त्यसैमाथि जुलीलाई झनै आकर्षित गर्न विमलेशले लुगा किनिदिन्थे। “एक दुई जोर लुगा किनिदिएको रहेछ,” जुलीकी आमा सम्झिन्छिन्, “१६-१७ वर्षकी बच्ची त भई, उसले जे भन्यो त्यही मान्न थालेकी रहिछ ।”

तर, फेसबुकमा जोडिएको एक वर्षपछि मात्र जुलीले विमलेशको वास्तविकता थाहा पाइन् । जुलीको गाउँ बनौटाकै एक युवतीसँग विमलेशको विहे भइसकेको रहेछ । आफन्त, इष्टमित्रको कुराबाट उनले विमलेशलाई थप जान्ने मौका पाइन् । न विमलेश आफूले भने जस्तो बाहुन परिवारका थिए, न त यातायात कार्यालयका अधिकृत । बरु उनी विहाहित निस्किए, त्यसमाथि दुई सन्तानका बाबु । जागिरको नाममा सशस्त्र प्रहरीका भगौडा ।

विमलेशको वास्तविकता बुझेपछि जुली छाँगाबाट खसेझैँ भइन् । उनी सम्बन्धलाई अघि बढाउने वा त्यहीँ बिट मारेर आ-आफ्नो बाटो लाग्ने भन्ने द्विविधामा परिन् । तर, प्रेमका लागि सबै त्याग गर्न तयार भए पनि कुनै अर्की महिलाको जीवनमा सौताको परिचय बनाएर जीवन कटाउने कुरामा उनको कलिलो मन सम्झौता गर्न तयार थिएन । अर्की महिला, त्यो पनि आफ्नै गाउँकी । परिणाम स्वरूप उनले सम्बन्धलाई त्यहीँ टुङ्ग्याएर आफ्नो बाटो तय गर्ने योजना बनाइन् ।  

उनले सम्बन्ध तोड्न खोजेपछि सुरु भयो, ब्ल्याकमेलिङको कहालीलाग्दो सिलसिला । “सायद पछि आफ्नो सबै वास्तविकता थाहा पाएपछि छोड्छे भनेरै उसले पहिले नै शारीरिक सम्बन्ध बनाएर फोटो र भिडिओ खिचेको थियो,” मञ्जुको आशङ्का छ, “ती निजी तस्बिर र भिडिओ सार्वजनिक गरिदिने धम्की दिएर विमलेशले जुलीलाई मानसिक रूपमा बन्दी बनाएको थियो ।” 

जुलीकी आमा भन्छिन्, “त्यसअघि पैसाको एक सुक्को खर्च नगर्ने छोरी, पछि पैसा मागेको माग्यै गर्न थाली । हामीसँग त्यसरी फुर्मास गर्ने पैसा थिएन । नदिएपछि चोर्न पनि सिकाएको रहेछ । त्यसपछि घरबाट कति रकम गायब भयो, हिसाब नै छैन ।”

तिनै फोटो र भिडिओको आडमा विमलेश जुलीलाई आर्थिक दबाब दिन थाले । भनेको समयमा भेट्नु, भनेको ठाउँमा गइदिनु, मागेको रकम व्यवस्थापन गरिदिनु अनि भनेको काम गरिदिनु उनको बाध्यता बन्न थाल्यो । निरन्तरको मानसिक यातनाले जुलीलाई भित्रभित्रै खोक्रो बनाइसकेको थियो । उनी डिप्रेसनको गहिरो खाडलमा भासिँदै गइन् । “बहिनी पूरै डिप्रेसनमा गएकी थिई । एक्लै बस्ने, कसैसँग नबोल्ने, गर्मीमा पनि च्यादर ओढेर सुत्ने गर्थी । बाटोमा हिँड्दाहिँड्दै एक्कासी रुन थाल्थी । तीन-चार पटक त फ्यानमा झुन्डिएर आत्महत्या गर्न पनि खोजेकी थिई । हात पनि काटेकी छे । अहिले पनि त्यसको दाग छ,” मञ्जु भावुक बनिन् ।

तर, यता परिवारलाई जुलीको मनमा के बितिरहेको छ, पत्तै थिएन । एक पल्ट जुलीले घरमा ५० हजार रुपैयाँ मागेकी थिइन् । “बहिनीले यातायातमा एक जनाले करारको जागिर लगाइदिने भनेको छ भन्दै घरबाट ५० हजार रुपैयाँ मागी,” मञ्जु सम्झिन्छिन्, “त्यो पैसा विमलेशलाई नै दिएकी रहिछ । पछि थाहा भयो उसले नै पैसा माग्न लगाएको रहेछ ।”

पढाईमा अब्बल जुलीलाई ११ कक्षाको फाइनल परीक्षामा ब्याक लाग्यो । घर परिवारसँग पनि टाढिन खोज्थिन् । घर आउँदा प्रायः एकान्त रोज्थिन् । जुलीको अस्वाभाविकपन देखेर परिवारलाई शङ्का लाग्यो । त्यसपछि मञ्जुले बहिनीसँग सोधखोज गरिन् । बहिनीले आफू जन्जालमा फसेको कुरा खुलाइन् । अनि मञ्जुले उनलाई त्यसबाट निकाल्ने प्रण लिइन् ।

जुलीको परिवारले जेठ २०८१ तिर जिल्ला प्रहरी कार्यालय, धनुषामा विमलेशविरुद्ध साइबर अपराधको निवेदन दियो । विमलेश पक्राउ पनि परे । तर, त्यसबेला विमलेशका परिवारले अब कुनै दुर्व्यवहार नगर्ने, विदेश जाने र जुलीको जीवन बर्बाद नगर्ने ‘ग्यारेन्टी’ दिए । “त्यो त पाँच छ वरष् जेल जान्छ, तर तेरै गाउँको चेलीको जीवन त बर्वाद हुन्छ भनेर जुली अनि हामीलाई सम्झाए,” जुलीकी आमा भन्छिन् ।


मञ्जु पनि आमाको कुरामा समर्थन जनाउँदै विमलेशको परिवारले ‘दुई ओटा बच्चा’ देखाउँदै दया मागेको कुरा सम्झिन्छिन् । यसरी अनेक बहाना र दबाब दिएपछि जुलीको परिवार मिलापत्र गर्न तयार भयो । तर, जुली भने राजी थिइनन् । मञ्जुका अनुसार जुलीले त्यतिबेला यस्तो भनेकी थिइन्, “उसलाई नछोड्नुस्, फेरि त्यस्तै गर्छ ।” प्रहरीको उपस्थितिमा दुई परिवारबिच मिलापत्र भयो । दुबै पक्षले आफ्ना नम्बर र अन्य सामाजिक सञ्जालका सबै विवरण परिवर्तन गर्ने, एक अर्कालाई सम्पर्क नगर्ने सहमति भएको जुलीकी आमा सुनाउँछिन् । “हामीले फोन पनि दिएका थिएनौँ । तर, खै कसरी सम्पर्क गर्‍यो । मिलापत्र भएको केही दिनलै उसको शैली दोहोरि‍यो,” जुलीकी आमा थप्छिन् । यसरी विमलेशले जुलीलाई ब्ल्याकमेल गर्ने सिलसिला फेरि सुरु भयो । यस पटक भने विमलेश आफन्तलाई नै ती फोटो र भिडिओ पठाउन थाले ।

“मेरा चार जना छोरी छन् । एउटीको बिहे भयो, अरू तीन जना कुमारी नै छन् । सबैको बिहे गर्नु पर्नेछ । पैसाको त जोहो गर्नैपर्‍यो, त्यसमाथि छोरीको इज्जतमै दाग लाग्ने फोटो पठाउन थाल्यो,” जुलीकी आमा भावबिहोल‍ हुन्छिन्, “फोटो सबै आफन्त, इस्टमित्रलाई पठाइदियो । सबैले हामीलाई थुथु गर्न थाले । यही पीडाले बिहे भएर छोरा पाएकी जेठी छोरी पनि एक महिना काठमाडौँ सिभिल अस्पतालमा बस्नुपर्‍यो ।”

“छोरीलाई सिन्दुर हालेको फोटो, अरू त भन्नै नसकिने फोटो राखेको थियो । यसले गर्दा जुलीलाई कति दुःख थियो, त्यो उसैले भन्ली । तर, हाम्रा लागि दिन रात एउटै थियो । कहिल्यै सुत्न पाएनौँ । छोरी मात्र भएको घरमा छोरीमाथि नै इज्जतको कुरा उठेपछि कति गाह्रो भयो होला हामीलाई ! कसरी सम्हालियौँ होला हामी ?”

पहिलो मिलापत्र असफल भएपछि जुलीको परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा बलात्कार र ब्ल्याकमेलिङको आरोपमा दोस्रो निवेदन दियो । “हाम्रो कुरा खै कसरी उसले चाल पायो, फेरि निवेदन दियो भन्ने बित्तिकै ऊ भाग्यो,” जुलीकी आमा भन्छिन् ।

जुलीकी दिदी मञ्जुका अनुसार यस पटक प्रहरीले भने विमलेशलाई पक्राउ गर्न चासो देखाएन । बरु ‘३५ दिन बित्यो, अब यो-त्यो थप्नुपर्छ’ भन्दै प्रहरीले नै प्रक्रियालाई झन्झटिलो बनाइदियो । परिवारले मुद्दा अगाडि बढाउनै सकेन । 

यसैबिच विमलेशकी श्रीमतीले उल्टै जुली र उनका बुबामाथि विमलेशलाई लुकाएको आरोपमा उजुरी दिइन् । विमलेशका साला र श्रीमतीले जुलीलाई गालीगलौज गर्दै उनीसँग जुलीका आपत्तिजनक तस्बिरहरू भएको धम्की दिए । त्यही फोटो फेला पारेपछि प्रहरीले विमलेशका सालालाई केही समय थुनामा पनि राखेको मञ्जुको भनाइ छ । तर, पछि विमलेशकी श्रीमतीले ‘आफ्नो इज्जत जाने’ भन्दै निवेदन नै फिर्ता लिइन् ।

यो निरन्तरको ब्ल्याकमेलिङबाट मुक्त हुन जुलीले प्रहरी बन्ने सङ्कल्प लिइन् । पहिलेदेखि नै प्रहरी सेवामा रुचि राख्ने उनले ‘म पुलिस बनेर भए पनि यो (विमलेश) बाट मुक्त हुन्छु’ भन्ने सोचेकी थिइन् । “उनी शारीरिक रूपमा तन्दुरुस्त थिइन् र प्रहरीका लागि समेत तयारी गरिरहेकी थिइन्,” मञ्जु भन्छिन्, “तर शरीरको ट्याटुका कारण छनोट हुन सकिनन् ।” त्यसपछि उनले ट्याटु मेटाएर जनकपुर गएर प्रहरी सहायक निरीक्षक (असई) को तयारी थाल्ने योजना बनाइन् ।

घटनाको चार दिनअघि मात्र जुली असईको तयारी गर्न भन्दै घरबाट पाँच हजार रुपैयाँ लिएर जनकपुर गएकी थिइन् । मञ्जुका अनुसार उनी विमलेशको निरन्तरको मानसिक यातनाले गर्दा घरमा चार दिनदेखि भोकै बसेकी थिइन् । जान नदिए मर्नेसम्मको धम्की दिएपछि आमा उनको कुरा मान्न बाध्य भइन् । तर, जनकपुर पुगेको तीन दिनपछि नै त्यो त्रासदीपूर्ण घटना घट्यो, जसमा विमलेशको निधन भयो र जुली पक्राउ परिन् ।

विमलेशको शरीरमा छुरी प्रहार भएको र उनी भाग्दै गर्दा खसेको बताइएको छ । तर, मञ्जु आफ्नी बहिनीले यस्तो गर्न सक्ने कुरामा विश्वास गर्दिनन् । उनको तर्क छ, “विमलेश ३२ वर्षका मोटोघाटो थियो भने जुली १८/१९ वर्षकी, डिप्रेसन र चार दिनको भोकले गलेकी थिइन् ।” (परिवारले जुलीलाई १९ वर्षकी भनेको भए पनि प्रहरीले विज्ञप्तिमा भने २१ वर्ष उल्लेख गरेको छ)

मञ्जु अगाडि भन्छिन्, “चार दिनदेखि नखाएको केटी, एक्लै बसिरहेको त्यस्तो हालतमा उसले कसरी त्यसो गर्न सक्छे ? विश्वासै लाग्दैन ।” मञ्जुका अनुसार जुलीलाई पनि विमलेशको निधन भएको कुरामा विश्वास नै छैन । उनी चौकीमा रोइरहन्छिन् । “खाना खाँदिन, सम्झाइदिनु होला भन्नुहुन्छ प्रहरीहरू,” मञ्जु भन्छिन्, “कसरी सम्झाउनु, के भनेर सम्झाउनु ?”

जुलीकी दिदी मञ्जुका अनुसार उनको परिवारले १५ महिना अघि नै विमलेशविरुद्ध जबरजस्ती करणी र विद्युतीय कारोबार ऐन अन्तर्गत प्रहरीमा उजुरी दिएको थियो । तर, प्रहरीले दुवै पक्षसँग छलफल गरी उक्त घटनालाई मिलापत्रमा टुङ्ग्याइदियो । घटना धेरै पुरानो भएकाले आफूसँग उजुरी नम्बर वा मिलापत्रको कागजात सुरक्षित नरहेको मञ्जु बताउँछिन् ।

यद्यपि विमलेशले नक्कली आईडी प्रयोग गरेर रकम माग्ने गरेको प्रमाण आफूसँग सुरक्षित रहेको उनी बताउँछिन् । ती केही प्रमाण मञ्जुले टेकपानालाई पनि उपलब्ध गराएकी छिन् । तर, विमलेशले पठाएका केही आपत्तिजनक तस्बिर आफूसँग भए पनि विषयको संवेदनशीलताका कारण सार्वजनिक गर्न नसकिने उनले स्पष्ट पारिन् ।

मृतक विमलेशका दाजु कमलेश यादव पनि ३ साउनको घटना अघि पटक पटक प्रहरी चौकी धाइरहेको कुरा स्वीकार्छन् । कमलेश भन्छन्, “यो मिलापत्र भइसकेको घटना हो । फेरि उनीहरू नजिक हुन थाले । यदि मिलापत्रबाट सन्तुष्ट नभए जुलीले कानुनको सहारा लिनुपर्थ्यो‍ । हत्या गर्नु हुन्छ र ? कानुनलाई आफ्नो हातमा लिनु अपराध हो ।” 

के भन्छ प्रहरी ? 

घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख प्रहरी उपरीक्षक नरहरी रेग्मीले प्रारम्भिक अनुसन्धानमा विमलेश र जुलीबिचको सम्बन्ध ‘बाध्यता’को रहेको देखिएको बताएका छन् । “प्रारम्भिक अनुसन्धानमा उहाँहरूको सम्बन्ध बाध्यताको सम्बन्ध थियो भन्ने देखियो,” उनले भने । जुली पक्षले यसअघि नै दिएको साइबर अपराधको उजुरीबारे प्रश्न गर्दा उनले उक्त उजुरी धनुषा प्रहरीको रेकर्डमा नदेखिएको बताए । उनले भने, “साइबर क्राइममा यतातिर (धनुषा) हैन, हाम्रो रेकर्डमा देखिएन । महोत्तरीतिर होला ।” तर, जुलीकी दिदी मञ्जुले भने धनुषामै निवेदन दिएको बताउँदै आएकी छिन् । अनुसन्धान प्रक्रियामा रहेकाले थप विवरण खुलाउन नसकिने प्रहरी उपरीक्षक रेग्मी बताउँछन् ।‍

नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थी नाबालिका पीडित रहेको ‘ब्ल्याकमेलिङ’ जस्तो गम्भीर फौजदारी अपराधमा मिलापत्र हुनै नसक्ने बताउँछन् । गत आर्थिक वर्षमा साइबर ब्युरोबाट अदालतमा दर्ता भएका ११२ मुद्दामध्ये अधिकांश चरित्रहत्या (ब्ल्याकमेलिङ)सँग सम्बन्धित रहेको उनको भनाइ छ । यद्यपि ब्युरोले घटना विशेषलाई वर्गीकरण भने गर्ने गरेको छैन । त्यसैले ठ्याक्कै यस्ता निवेदन कति पर्छन्, कति मुद्दामा जान्छन् यकिनका साथ भन्न नसकिने अवस्थीले बताए ।

“नाबालिक पनि हो, अनि जबरजस्ती करणी र साइबर अपराधको उजुरी हो भने मिलापत्र हुँदैन,” उनले भने, “पीडितले जाहेरी नै दिन्नँ भनेपछि प्रहरीले जबर्जस्ती गर्ने कुरा भएन । तर प्रहरीमा आइसकेपछि मिलापत्र गराउने विषय यो होइन ।” उनका अनुसार पीडित नाबालिग भएको अवस्थामा घटना झनै गम्भीर हुने र बालबालिका सम्बन्धी ऐन समेत आकर्षित हुन्छ । 

“नाबालिकाको केसमा त झन् संवेदनशील हुनुपर्ने हो,” अवस्थीले भने, “हामी त बरु अपराधीलाई सजाय होस् भनेर पीडितलाई सम्झाउँछौँ, ‘तपाईँ पछाडि नहट्नुहोस्, तपाईँको केस स्ट्रङ छ, जानुपर्छ’ भन्ने हिसाबले नै कुरा गर्छौँ । पीडितले मुद्दा चलाउँछु भन्दा कसैले रोक्न सक्दैन र रोक्नु पनि हुँदैन ।”

डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक अधिवक्ता सन्तोष सिग्देल विद्युतीय कारोबार ऐन अन्तर्गत उजुरी परेर व्यक्ति पक्राउ परिसकेको खण्डमा मिलापत्र गर्नै नमिल्ने बताउँछन् । “घटनाको प्रकृति के थियो, उनी (जुलीको परिवार)हरूसँग के के प्रमाण छ भन्ने विषयले फरक पार्छ,” उनी भन्छन्, “यदि विद्युतीय कारोबार ऐन अन्तर्गत नै उजुरी दिएर व्यक्ति पक्राउ परेको हो भने मुद्दा अगाडि बढ्नुपर्छ ।”



Post a Comment

0 Comments