श्रावण महिनाको राशिफल, यी ७ राशिहरूकाे चम्किदैछ भाग्य
२०७८ सालको श्रावण महिनाको ०१ गते शुक्रवार परेको छ, यस दिन मध्यरात्रीपछि ५।०० बजे अर्थात् भोलिपल्टमात्र सूर्यले मिथुन राशिको यात्रा पूर्ण गरी कर्कट राशिमा प्रवेश गर्नेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मातृसुख, वाहनसुख र विदेश यात्राको फल प्रदान गर्ने घरमा सूर्यको आगमन भएको छ । मेष राशिका जातकका निमित्त सूर्य पाँचौं घरको मालिक मानिन्छ र साउन महिनामा यसले तपाईंको चौथो घरको भ्रमण गर्नेछ । सूर्यको यस परिभ्रमणका क्रममा भाग्यले साथ दिने समय हो, अबको एक महिना व्यापार/व्यवसाय वा बुद्धि र चतुर्याइँको कामबाट लाभ मिल्नेछ । हुन त परिवारसम्बद्ध कतिपय विषयको निर्णयमा अलमलमा पर्न सकिन्छ, किनकि यस समयावधिमा मन र मस्तिष्क दुबै सक्रिय हुनेहुँदा काम, कर्तव्य र वफादारी एकातिर अनि कल्पना/भावना अर्कातिर हुनेहुँदा तालमेल मिल्दैन । यस समयमा परिवारका सदस्यहरूको अचम्मलाग्दो व्यवहार देखापर्न सक्छ, विचारमा वैमनस्य हुनाले तपाईंलाई एक्लो भएको महसुस हुनेछ । पिता वा पैत्रिक सम्पत्तिको पक्षमा शुभफल प्राप्त हुनेछ ।
जग्गाजमिनको खरीदबिक्री वा ठेकापट्टाबाट लाभ लिन सक्नुहुन्छ । सामाजिक जीवनमा पनि शुभ समय नै रहने छ । कामका माध्यमबाट हैसियत बृद्धि गर्नसकिने तथा मित्रवर्गसँग सहज उठबसका साथै केही रमणीय समय सेयर गर्न सक्नुहुन्छ । घरमा आमा हुनुहुन्छ भने उहाँको स्वभावमा कडापन देखिने र परिवारका अन्य सदस्य र केटाकेटीसँग विवाद हुने वातावरण बन्नसक्छ । यस अवधिमा छात्रछात्रा तथा किशोरअवस्थाका व्यक्तिमा आत्मविश्वासको कमी हुनेछ, त्यसैले उनीहरू लक्ष्यप्रति भ्रमित बन्न सक्छन् । तर सरकारी वा सरकारसम्बद्ध काममा संलग्नहरूका लागि यो समय असाध्यै लाभकारी समय हुनेछ । रोजगारी वा योग्यता बृद्धिको खोजीमा रहेका जातकले परीक्षा/प्रतिस्पर्द्धामा राम्रो रिजल्ट निकाल्न सक्छन् । खासगरी सूर्यको यस गोचरकालमा व्यक्तिगत स्वास्थ्यमा पनि केही प्रभाव पर्न सक्छ, पेट र पाचनतन्त्रीसम्बद्ध रोग खेप्दै हुनुहुन्छ भने अझ बढी परहेजमा बस्नु उचित हुन्छ ।
त्यसबाहेक आमा वा घरकी गृहिणीलाई रगतको समस्या र उच्च रक्तचापले पिरोल्नसक्छ । राशिस्वामी मङ्गलले यो महिना चतुर्थ र पञ्चम भावको यात्रा गर्नेछ । यसको प्रभावले व्यक्तित्व विकासको इच्छाले प्रेरित भएर गरिने हरेक काममा सफलता प्राप्त हुनेछ । विद्यार्थीहरूका लागि विशेष समय हुनेछ भने गृहस्थीजनमा सन्तानले खुसी र प्रसन्न हुने अवसर प्रदान गर्नेछन् । सप्तमेश शुक्रले यो महिना पाँचौं र छैटौं भावको यात्रा गर्नेछ, त्यसैले गृहिणीहरूका निमित्त यो महिना परिवार एवं साथीभाइसित रमाइलो जमघट हुने समय छ । पारिवारिक खुसीलाई मध्यनजर गर्दै कुनै काम लुकाएर गर्नुपर्ने समय पनि देखिन्छ, साथै महिनाको अन्त्यमा शुक्रको षष्ठ भावमा प्रवेश हुनेहुँदा पतिको स्वास्थ्यस्थितिमा विकार आउन सक्छ, सचेतता अपनाउनु जाति हुनेछ । यो महिना ग्रहजन्य कुनै किसिमको दुष्प्रभाव नहोस् भन्ने उद्देश्यले तपाईंले राशिस्वामी मङ्गलको प्रियताका लागि हरेक मङ्गलवारको व्रत लिनु वा श्री हनुमान् चालिसाको ११ आवृत्ति पाठ गर्नु राम्रो हुन्छ । सामान्यतया यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २३, २४ र २५ गते तपाईंका लागि अशुभ रहने छन् ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सूर्य तपाईंका निमित्त गृहसुखसँग सम्बद्ध चौथो घरको मालिक हो र तेस्रो घर अर्थात् पराक्रम स्थानमा भगवान् सूर्यनारायणको आगमन भएको छ । यस अवधिमा बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । आकस्मिक धनप्राप्तिको योग बनेको छ । सामाजिक सम्बन्धमा सुधार आउने छ, परोपकार, एकाग्रता र समर्पण भावमा बृद्धि हुने समय हो । यस अवधिमा तपाईंभित्र साहस, हिम्मत, ऊर्जा र सन्तुलित मानसिकता देखापर्ने छ । पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय भएकाले यस अवधिमा तपाईंले आफ्नो नैसर्गिक क्षमताको भरपूर उपयोग गर्नुहुनेछ । यो साथीहरू वा सहकर्मीहरूका माझमा घुलमिल हुने र ससानो यात्रामा सहभागी हुने समय पनि हो । ससाना कुरालाई समेत वास्ता गरी काम गर्ने र थालेको काम पूरा गर्ने तन्मयताको सिर्जना हुनेछ । घरमा भाइबहिनी र कार्यक्षेत्रमा जुनियर स्टाफको पूर्ण सहयोग रहने छ, जसका कारण थालेको काम छिटो पूरा हुने तथा लाभकारी नतिजा प्राप्त हुने सम्भावना देखिन्छ ।
सुरक्षानिकाय, खेलकुद, साहसी काम, पर्वतारोही आदि बल र साहस प्रदर्शन गर्ने कार्यक्षेत्रमा हुनुहुन्छ भने यस समयावधिमा अझ राम्रो प्रदर्शन रहने छ । वैदेशिक रोजगारीमा वा शिक्षादीक्षाका माध्यमबाट विदेश पुग्ने सपना सजाउनु भएको छ भने प्रयास गर्नुहोस्, यो महिना तपाईंको सपनाले साकार रूप लिनेछ । कर्मचारीले कार्यालयमा चाहेको जिम्मेवारी प्राप्त गर्ने वा चाहेको ठाउँमा सरुवा मिलाउने समय पनि हो । सामाजिकता, धर्मकर्म र परम्पराको निर्वाह गर्ने समय हो, त्यसैले यस अवधिमा घरमा पूजापाठ हुने, मन्दिर वा तीर्थको भ्रमण गरिने र दान/सहयोगका सिलसिलामा मोटै रकम खर्च हुने परिस्थितिसमेत बन्नसक्छ । यस अवधिमा घरमा पिताजी वा दाजुको व्यवहारमा असामान्यता देखिने वा निजको स्वास्थ्यस्थितिमा समस्या आउने समय भएकाले चिन्तित बन्न सक्नुहुन्छ । तपाईंको राशिस्वामी शुक्रले यो महिनाभरि चतुर्थ र पञ्चम भावको यात्रा गर्नेछ । यसको प्रभावले बडो आनन्द र उमङ्गका साथमा समय बित्नेछ । पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्ने छन् । वैदेशिक प्रयोजनको काम वा व्यापार वाणिज्यबाट लाभ मिल्नेछ ।
परिवारमा एक किसिमको जमघट र रमाइलोको वातावरण सिर्जना हुनेछ । यात्राबाट लाभ हुनेछ । शत्रु र प्रतिस्पर्धीले हानि पुर्याउन सक्दैनन् । त्यस्तै यसै महिना सप्तमेश मङ्गलले तृतीय र चतुर्थ भावको यात्रा गर्नेछ, श्रावण ०६ गतेदेखि चतुर्थ भावमा प्रवेश गर्ने मङ्गलको राशिस्वामीसँग पुन: युतिसम्बन्ध बन्नेछ, जसबाट पतिपत्नीमा अझ निकटता बढ्ने हुँदा कहिलेकाँही ससाना कुरामा नोकझोक हुने सम्भावना देखिन्छ । घरघडेरी र घरायसी सुखमा मङ्गलले शुभफल नै प्रदान गर्नेछ, तर आमाको स्वास्थ्यस्थितिमा प्रभाव पार्नसक्छ, सचेत हुनुपर्छ । यो महिना कुनै किसिमको कठिनाइ, बाधा र स्वास्थ्यसमस्या नहोस् भन्ने उद्देश्यले तपाईंले हरेक आइतवारका दिन रातो गाईलाई सक्खर र पिठो खुवाउनु उपयोगी हुनेछ । यस महिनाको ०६, ०७, ०८, १५, १६, १७, २५, २६ र २७ गते चन्द्रगोचर अशुभ रहने हुँदा ती दिनमा सतर्कता अपनाउनु राम्रो हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पराक्रम भावका मालिक सूर्यले यस श्रावण महिनामा धनधान्य, कुटुम्ब र वाणिलाई प्रभावित तुल्याउने दोस्रो भावमा भ्रमण गर्नेछन् । वैवाहिक जीवन र प्रेमप्रसङ्गमा सुखद पल बिताउने अवसर मिल्नेछ भने कार्यक्षेत्रमा पनि कतिपय राम्रा अवसरहरू मिल्नेछन् । सूर्यले धनभावमा प्रवेश गर्नु भनेको आर्थिक पक्षमा तपाईंका लागि शुभ सङ्केत हो । आर्थिक दृष्टिकोणले यो समय राम्रो रहनेछ । सम्पत्ति आर्जन गर्ने सिलसिलामा वा कुनै नयाँ कामको थालनी वा पूर्णताका लागि तपाईंले भाइबहिनी वा कार्यक्षेत्रका जुनियर स्टाफको सहयोग पाउनु हुनेछ । बरु आफ्नै शारीरिक सामर्थ्य र ऊर्जामा कमी भएको महसुस हुनेछ, कमजोरीको अनुभूति हुनसक्छ, त्यसैले व्यायाम र आहाराको सन्तुलनमा ध्यान दिनु ठीक हुन्छ ।
कुनै काम पूर्ण गर्न थप धनको आवश्यकता पर्न सक्छ । यसका लागि तपाईंले सरसापटी वा ऋणकारोबार गर्नुपर्ने हुन्छ, यस्तो परिस्थिति आएमा तपाईंले आफूभन्दा कमजोर स्ट्याटस भएका व्यक्तिका तर्फबाट पनि सहयोग पाउन सक्नुहुन्छ । परिवारका सदस्यहरू एकआपसका इगो र एटिट्युडका कारण तनावग्रस्त रहनेछन् । घरभित्रको कलह र द्वन्द्वको माहौल देखेर खिन्न बन्ने परिस्थिति छ । तपाईंको बोली र व्यवहारमा समेत कटुता देखिने छ, अत: यस अवधिमा असभ्य वा गलत शब्दको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउनु राम्रो हुन्छ । मनमा पलाउने भावनामा उतारचढाव आउनाले उदासीन र अशान्त बन्ने सम्भावना पनि देखिंदैछ, अत: कुनै कुरामा असन्तुष्टि छ भने ती विषयलाई मनमा कुण्ठित बनाउनुभन्दा मनमिल्ने नातेदार वा सँगीसाथीसँग सेयर गरेमा राहत महसुस हुनेछ ।
सरकारी सेवामा रहेका व्यक्तिले यस अवधिमा आफ्नो कार्यालय वा संस्थाका तर्फबाट पुरस्कृत हुने वा कुनै किसिमको आर्थिक लाभको आशा गरेमा फरक पर्दैन । छात्रछात्राका लागि राम्रो छ, बुझाइ र एकाग्रताको स्तरमा सुधार आउने छ र ट्र्याक बाहिर पुगेका विद्यार्थीहरूले पनि अब लय समात्ने समय हो । यो महिना तपाईंको राशिस्वामी बुध ग्रहको तपाईंको आफ्नै राशि, धन स्थान र पराक्रम स्थानको समेत यात्रा हुनेछ, यसको समग्र प्रभावअनुसार आर्थिक रूपले यो उत्तम समय छ । व्यावसायिक कारोबारबाट लाभ मिल्नेछ । परिस्थितिलाई मनन गर्नसक्ने क्षमताको विकास हुनाले जोसुकैलाई पनि आफ्नो विचार र लक्ष्यप्रति सहमत तुल्याउन सकिने छ ।
सामाजिक प्रसिद्धि प्राप्त हुनेछ । त्यस्तै यस महिना राशिपरिवर्तन गर्ने अन्य ग्रहमा पञ्चमेश शुक्रले तेस्रो र चौथो भावको तथा मङ्गलले तेस्रो भावको यात्रा प्रारम्भ गर्नेछ । यी दुबै ग्रहको शुभ परिणाम प्राप्त हुनेछ । जस्तै — यस अवधिमा दाजुभाइका बीचमा सुदृढ सम्बन्ध कायम हुनेछ । देशविदेशको भ्रमण हुने वा तीर्थाटन गर्ने अनुकूलता मिल्नेछ । अधबैंसे र बृद्धावस्थाका व्यक्तिहरूले छोराछोरी वा नातिनातिनाको कार्यक्षेत्रमा प्रगति भएको समाचार सुन्न पाउनु हुनेछ । आयआर्जनको मार्गमा बढोत्तरी हुनेछ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ । यस महिनामा कुनै किसिमको असुविधा, बाधा वा कठिनाइ नहोस् भन्ने उद्देश्यले तपाईंले यस महिनाभरि हरेक दिन बिहान सूर्योदयको समयमा सूर्यलाई जलार्पण गर्नु उचित हुनेछ । यस महिनाको ०१, ०२, ०९, १०, १८, १९, २०, २७, २८ र २९ गते तपाईंका लागि अलि बढी सतर्कता र सजगता अपनाउने दिन हुन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सूर्य तपाईंको धनभावको मालिक हो, यसको गोचर अब तपाईंको आफ्नै राशिमा हुनेछ । राशि परिवर्तनको यस प्रभावले पेसा, व्यवसाय वा रोजगारी आदि क्षेत्रमा केही राम्रा र शुभ अवसरहरू प्राप्त हुनेछन् । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी पाउन सकिन्छ । सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । हुन त ज्योतिषीय दृष्टिकोणले दोस्रो वा बाह्रौं भावको मालिकले लग्नमा बसेर उसको घरसँग द्विर्द्वादश सम्बन्ध बनाउनु राम्रो मानिंदैन ।
तथापि आत्मकारक ग्रह सूर्यको शिरमा सञ्चरण हुँदा निकै आशावादी बन्न सकिन्छ । सरकारी सेवाको उच्च पदमा रहेका विशिष्ट कर्मचारी वा राजनेताहरूका लागि यो महिना उत्कृष्ट समय हुनेछ । धन, मान र प्रतिष्ठामा आशातीत ढंगले बृद्धि हुने सम्भावना देखिन्छ । पदोन्नति वा बढुवा चाहनेको प्रयास गर्ने समय हो । नयाँ रोजगारीको खोजीमा हुनेले पनि प्रयास गर्ने समय हो । साउन महिना व्यवसायीहरूका लागिसमेत अनुकूल समय हुनेछ, आआफ्नो बन्दव्यापारमा राम्रो पकड हुने तथा सम्झनयोग्य लाभ प्राप्तिको समय हो । त्यस्तै आफ्नो राशिको सूर्यको गोचरकाल व्यक्तित्व विकास वा पारिवारिक समुत्थानका लागि कुनै खास निर्णय लिन र कार्यान्वयन गर्न उपयोगी समय मानिन्छ । प्रशासन वा न्यायिक प्राधिकरण तपाईंको कार्यक्षेत्र हो भने यो समय प्रतिष्ठा बृद्धिको समय हो ।
हुन त यसै अवधिमा केही अशुभ परिणामहरू समेत देखा पर्नेछन्, खासगरी सुखसुविधा जुटाउन र धनको चिन्ता बारम्बार हुनाले मनमा अनेकानेक कुभावना र चिन्ता सलबलाउने खतरा हुन्छ । स्वभावमा घमण्ड र निरङ्कुशता देखा पर्नेछ, जसले गर्दा तपाईंमा अधैर्यता र अहङ्कारको भाव देखा पर्नेछ । परिणामत: पारिवारिक र सामाजिक सम्बन्धमा असर पर्नसक्छ, आफन्त र मित्रशक्तिको साथसहयोग पाउन सकिंदैन । स्वास्थ्यगत दृष्टिले टाउको वा आँखाको समस्या देखापर्ने समय भएकाले खानपान र आरामका लागि समय छुट्याउनु हितकारी हुन्छ । यो महिना राशि परिवर्तन गर्ने अन्य ग्रहहरूमध्ये पञ्चमेश मङ्गलले दोस्रो भावमा प्रवेश गर्नेछ, यसको प्रभावले आत्मबल, सामर्थ्य र हिम्मतको सञ्चरण हुनेछ । पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । खासगरी छात्रछात्राले यस अवधिमा आफ्नो प्रतिभाको भरपूर उपयोग गर्न सक्नेछन्, मौखिक अभिव्यक्ति वा ललितकलाका क्षेत्रमा प्रतिभा प्रस्फूटन हुने अवसर हो ।
त्यस्तै लाभ र सुख भावको मालिक शुक्रले यो महिना दोस्रो र तेस्रो भावको भ्रमण गर्नेछ, यसको प्रभाव पनि सकारात्मक नै रहने छ, जस्तै मिहिनेतको राम्रो नतिजा हात पर्ने छ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्नेछ । नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्ने छ । यस महिनाको मध्य भागमा तपाईंको राशिमा बुध ग्रहको आगमन हुने हुँदा बौद्धिक क्षेत्रमा यसले सकारात्मक ऊर्जा प्रदान गर्नेछ, तर व्यवहारिक खर्चमा बृद्धि गर्नसक्छ । यस महिनामा देखिएका ग्रहजन्य असुविधा र अनिष्ट फलको निवारण होस् भन्ने उद्देश्यले तपाईंले सकेसम्म दिनैपिच्छै नसके प्रत्येक सोमवारका दिन कुनै शिवालयमा गएर दुग्धाभिषेक गर्नु राम्रो हुन्छ । तपाईंको राशिस्वामी चन्द्रमाले यस महिनाको ०२, ०३, ०४, ११, १२, २०, २१, २२, ३० र ३१ गतेका दिन अशुभ भावको यात्रा गर्ने भएकाले सचेतता अपनाउनु बुद्धिमानी हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सूर्य तपाईंको आफ्नै राशिस्वामी हो, र यसले खर्च र नोक्सानी जनाउने बाह्रौं भावमा प्रवेश गर्दैछ । त्यसैले आर्थिक क्रियाकलापका हरेक पक्षमा अनावश्यक र फाल्तु खर्च त भइरहेको छैन, खासगरी बजेटलाई सन्तुलित बनाउने प्रयास गर्नुपर्छ । हुन त यसै भावबाट ज्ञान, वैराग्य र मोक्षसम्बद्ध विषयको समेत चर्चा हुने गर्दछ । त्यसैले यस समयावधिमा तपाईंमा दया, माया र सहानुभूतिका भावहरू देखा पर्नसक्छन् । त्यस्तै आफ्ना र आफन्तका समस्या सुन्ने र तिनलाई सान्त्वना प्रदान गर्न पनि तपाईंको चासो रहने छ । अनि दान, धर्म र परोपकारी काममा पनि दिलचस्पी हुनेछ । वैदेशिक यात्राको पर्खाइमा रहेका व्यक्तिहरूको अभिलाषा पूर्ण हुनेछ, त्यस्तै गृहस्थीजनको तीर्थयात्रामा जाने वा योजना बन्ने समय हो । यस अवधिमा केही गोपनीय विषयहरू सम्पादन गर्नाले लाभ हुनसक्छ, गैरकानूनी कामका माध्यमबाट धनसञ्चय गर्न चाहनेले निकै चनाखो हुनुपर्छ, नत्र दण्ड वा जरिवाना तिर्ने परिस्थिति पनि सिर्जना हुनेछ ।
यो खर्च बढ्ने महिना हो । खर्चको अधिकांश हिस्सा आत्मतृप्ति र विलासिताका चिजबीज हुनसक्छन् । तर दैनिक नगद कारोबार गर्नेले पेसा/व्यवसायमा अर्काको विश्वास गर्नुभन्दा पनि आफ्नै निगरानीमा गर्नु बुद्धिमत्ता हुनेछ, यद्यपि विदेशमा बस्ने अथवा वैदेशिक प्रयोजनका काम गर्नेहरूका लागि यो लाभदायक समय ठहरिने छ । यस भावमा बसेको सूर्यको छैटौं भावमा पूर्ण दृष्टि हुने भएकाले शत्रु र रोगबाट सजग रहने समय हो । त्यस्तै पिताजीको कारक ग्रह सूर्यलाई मानिने हुँदा स्वास्थ्यस्थितिका कारणले वा अन्य कुनै प्रयोजनमा पिताका माध्यमबाट पनि खर्च बढ्ने समय हो । यस महिना बुध ग्रहले समेत महिनाको मध्यभागमा बाह्रौं भावमा प्रवेश गरी बुधादित्य योगको सिर्जना गर्नेछ, यसको प्रभावले केही राहतको महसुस हुनसक्छ । त्यस्तै श्रावण ६ गते भाग्य भावको मालिक मङ्गल ग्रहले तपाईंको आफ्नै राशिमा भ्रमण प्रारम्भ गर्नेछ, यस अवधिमा कुनै रोकिएका वा नचिताएका काम बन्ने योग बन्नेछ ।
भाग्य बृद्धि हुनुका साथै नयाँ कामको थालनी हुनसक्छ । तर रिस, घमण्ड र अहङ्कार/आडम्बरको भावनामा बृद्धि हुनसक्छ, सचेतता अपनाउनु ठीक हुन्छ । त्यस्तै शुक्रले महिनाको अधिकांश समय तपाईंकै राशिमा भ्रमण गर्ने हुँदा यसको प्रभावले समेत केही शुभ परिणामहरू प्राप्त गर्न सक्नुहुन्छ । यस महिनामा कुनै पनि ग्रहजन्य असुविधा नहोस्, खराब प्रभावको नाश होस् भन्ने उद्देश्यले तपाईंले नित्यप्रति एक माला (१०८ पटक) गायत्री मन्त्र जाप गर्नु बेस हुनेछ । यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २३, २४ र २५ गते तपाईंका लागि अशुभ रहने छन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सूर्यदेव तपाईको द्वादश भावका मालिक हुन् र श्रावण महिनामा सूर्यको भ्रमण लाभ भावमा हुनेछ । सामान्यतया एघारौं भावमा परिभ्रमण गर्ने क्रूर र दुष्ट ग्रहको प्रतिफल असाध्यै राम्रो हुन्छ भनी अधिकांश ज्योतिषग्रन्थमा उल्लेख गरिएको हुन्छ । त्यसैले यो महिना तपाईंका लागि अति उपयोगी साबित हुनेछ । तपाईंका सम्पूर्ण इच्छा र आकाङ्क्षाहरू पूर्ण गर्ने महिनाका रूपमा यस समयको आगमन भएको छ । यस अवधिमा वैदेशिक व्यापार वा विदेशको कम्पनीसँग सम्बद्ध व्यक्तिहरूले विशेष लाभ पाउन सक्नेछन् ।
त्यस्तै यस समयमा पारिवारिक क्रियाकलापका साथै सँगीसाथीहरूका बीचमा धनखर्च गर्ने परिस्थितिसमेत बन्नेछ । सरकारपक्ष र सरकारी उच्च ओहोदाका व्यक्तिहरूसँग सुसम्बन्ध कायम हुनेछ । कुनै प्रतिष्ठान, कम्पनी वा कार्यालयमा पहुँच विस्तार गर्न वा नयाँ रोजगारीका लागि प्रयास गर्न यो सयम उपयोगी देखिन्छ । सूर्य बाह्रौं घरको मालिक भएको तथा एकादश भावमा बसेर पञ्चम भावमा पूर्णदृष्टिले देख्ने हुँदा मन अस्थिर र चञ्चल देखिन सक्छ, यसबाट तपाईंलाई कुनै निष्कर्षमा पुग्न वा कुनै खास परिस्थितिमा विशेष निर्णय लिनुपर्ने विषयमा गाह्रो र अलमल हुनेछ । यो सरकारी पेसामा रहेका सार्वजनिक कार्यालयका प्रमुखहरू, अन्य कर्मचारी वा राजनीतिज्ञहरूको अनुकूल समय हो । घरगृहस्थीमा सन्ततिका क्रियाकलाप र स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नसक्छ ।
आफ्नै स्वास्थ्यमा पनि पाचनप्रक्रिया, एसिडिटी जस्ता रोगले सताउन सक्छ । अत: यो काममा सक्रियता जनाउनुका साथै स्वास्थ्यस्थिति, आहारविहार र व्यायाममा पनि ध्यान दिने समय हो । यसै महिनामा राशिस्वामी बुधले सुरुमा कर्मक्षेत्रमा, महिनाको मध्यभागमा लाभ भावमा र अन्त्यमा द्वादश भावको यात्रा गर्नेछ । यसको प्रभावले व्यापार/व्यवसाय वा पेसामा राम्रो प्रगति हुनेछ । व्यापारको विस्तारसमेत हुनसक्छ । पूर्णरूपेण कर्मशील भइने छ ।
वरिष्ठ व्यक्तित्व वा सत्तावान् व्यक्तिका साथको सम्बन्धमा सुधार आउने छ । पारिवारिक वातावरण सन्तोषप्रद रहनेछ । वाहनादि र विदेशबाट लाभ प्राप्त हुनेछ । महिनाको अन्त्यतिर घरमा कुनै शुभ कृत्यको आयोजना हुनसक्छ । उता शुक्रले समेत अधिकांश समय बाह्रौं भावमा र महिनाको अन्त्यमा तपाईंको आफ्नै राशिमा भ्रमण गर्ने परिस्थिति छ, साथै ०७ गतेपछि बाह्रौं भावमा मङ्गल ग्रहको उपस्थिति रहने छ, यस अवधिमा आडम्बर, एकोहोरोपन र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन्, होस राख्नुहोला । यो महिना ग्रहजन्य कुनै दुष्परिणाम प्राप्त नहोस् र शुभफलमा आधिक्य वा बृद्धि होस् भन्ने उद्देश्यले आगामी हरिशयनी एकादशीका दिन तुलसी रोपण कार्यमा आफ्नो सक्रियता जनाउनुहोस् र त्यसपछि दैनिक रूपमा तुलसीमा जलार्पण गर्नुहवस् । यस महिनाको ०६, ०७, ०८, १५, १६, १७, २५, २६ र २७ गतेको चन्द्रमा कमजोर रहेकाले यी दिनमा कुनै पनि शुभकर्म नगर्नु राम्रो हुन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
तपाईंको राशिबाट सूर्यले एकादश भावको स्वामित्व गर्दछ र हरेक वर्षको श्रावण महिनामा यसको दशम भावमा उपस्थिति रहने गर्दछ । एघारौं घरबाट आय र लाभको स्थितिको विवेचना हुन्छ भने दशम भावबाट पिता, पद, प्रतिष्ठा र कुलघरानको चर्चा गर्ने गरिन्छ । अत: सूर्यको यो गोचर तपाईंका लागि हरेक तरिकाले शुभ समय रहने छ । कार्यक्षेत्र र क्यारियरमा अचानक शुभ परिणाम प्राप्त हुनसक्छन् । कुल, परम्परा र आध्यात्मिकतातर्फ चासो बढ्नेछ ।
यो कडा मिहिनेत गरी आफ्नो वर्चस्व स्थापना गर्ने समय हो । कार्यस्थलमा उन्नति/प्रगति र प्रशंसा प्राप्त हुनेछ । यसबाट तपाईंको व्यावसायिक र पेसागत जीवनमा शुभ समयको सङ्केत प्राप्त हुन्छ । प्रयास गरेमा आफ्नो लक्ष्य र योजनामा शीघ्र सफल बन्न सक्नुहुन्छ, साथै तपाईंले कार्यक्षेत्रमा आफ्नो नाम र ख्याति राख्ने राम्रा अवसरहरू प्राप्त गर्न सक्नुहुन्छ । बन्दव्यापारमा संलग्न व्यक्तिहरूले पुराना झञ्झट र तनावबाट मुक्ति पाउनेछन् । ऋणमार्फत कुनै परियोजना सञ्चालन गर्नुभएको छ भने त्यसको नवीकरण वा पुनर्जीवनको कुनै राहत वा मौका प्राप्त हुनसक्छ । नोकरीको प्रयासमा रहेका व्यक्तिहरूले यस अवधिमा परीक्षा, प्रतियोगितामा राम्रो प्रतिभाको प्रदर्शन गर्न सक्नुहुन्छ, जसले गर्दा रिजल्ट आफ्नो पक्षमा आउनेछ । पुराना कर्मचारी र कामदारले राम्रो फाँट प्राप्त गर्ने, बढुवा, पुरस्कार आदिबाट सम्मानित हुने अवसर पाउनेछन् । पिताको कार्यक्षेत्रबाट समेत शुभ समाचार प्राप्त हुनेछ ।
दशम भावमा बसेको सूर्यको चतुर्थ भावमा पूर्णदृष्टि रहने भएकाले घरगृहस्थीका काममा खर्च बढ्ने परिस्थिति देखिन्छ । भौतिक जीवन सुन्दर र भव्य देखिए पनि घरिघरि मुड अशान्त बन्नसक्छ । त्यस्तै यसै अवधिमा धार्मिक, सामाजिक वा परोपकारी कार्यका निमित्त पनि धनव्यय हुने सम्भावना छ । जेजस्तो भए पनि समग्रमा सूर्यको यो गोचरकालमा तपाईंले समाजमा इज्जत, नाम र प्रतिष्ठा कमाउने समय हो । यस अवधिमा राशिस्वामी शुक्रको लाभ भावको यात्रा हुनेछ, अब प्रत्येक प्रयासमा सफलता प्राप्त हुनेछ । मित्र र सहयोगीको साथ पाइने छ । बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्णता हुनेछ ।
सहयोगी हातहरू बढ्नेछन् र मित्रशक्तिबाट लाभ हुनेछ । महिनाको अन्त्यमा राशिस्वामी शुक्रको बाह्रौं भावमा उपस्थिति रहने छ, त्यसपछि खर्च धेरै हुनेछ तर आम्दानीका मार्गहरू पनि पर्याप्त रहने छन् । यसै महिना लाभ भावमा प्रवेश गर्ने मङ्गलको प्रभावले तथा भाग्यभाव, कर्मक्षेत्र र लाभभावमा रहने भाग्येश बुधको प्रभावले समेत शुभ फल नै प्राप्त हुने लक्षण देखिन्छ । यस अवधिमा शुभफलमा अझ बृद्धि होस् भन्ने उद्देश्यले गरीव, दु:खी र खाँचो परेका व्यक्तिहरूलाई खानेकुरा र वस्त्र दान गर्नु तथा आफ्नो कुलको मान्यता अनुसार कुलपूजा वा धुपधुँवार गरिदिनु राम्रो हुन्छ । सामान्यतया यस महिनाको ०१, ०२, ०९, १०, १८, १९, २०, २७, २८ र २९ गतेका दिन अलि सजग र सतर्क भएर काम गर्ने समय हो ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सबैको आत्माको कारक ग्रह सूर्यलाई मान्ने गरिन्छ, यो तपाईंको दशम भाव अर्थात् कर्मक्षेत्रको मालिक हो । यो महिना सूर्यले भाग्य भावमा रहेको कर्कट राशिको यात्रा गर्दैछ । त्यसैले तपाईंका लागि श्रावण महिना भाग्यबृद्धि हुने महिना हो । धर्म, दर्शन, परम्परा, अध्यात्म र आत्मिकताको यात्रामा अघि बढ्न सक्नुहुन्छ वा त्यस्ता क्रियाकलाप वा पठनपाठनप्रति आकर्षण बढ्ने छ । यस समयावधिमा कतिपय थालनी गरेका कामहरू जति मिहिनेत र प्रयास गर्नुपर्ने हो, त्यति नगर्दासमेत पूरा हुने लक्षण देखिन्छ । पिताजीसँगको सम्बन्धमा सुधार हुनेछ, उहाँको सहकार्य वा सुझावबमोजिम गरिएका क्रियाकलापबाट मनग्ये फाइदा लिन सक्नुहुन्छ ।
त्यस्तै घरका बृद्धबृद्धाको चाहनाअनुरूप कुनै धार्मिक क्रियाकलापमा सहभागी बन्न सक्नुहुन्छ, अथवा कुनै तीर्थाटनको योजना बन्नसक्छ । यस अवधिमा परम्परा, धार्मिक प्रचलन र धर्मशास्त्रप्रति रुचि बढ्नेछ, पूजाआजामा सहभागी हुने, पुराणको अनुशीलन गर्ने वा पौराणिक क्रियाकलापमा सक्रियता देखाउने मौका मिल्नसक्छ । शिक्षादीक्षाको क्षेत्रमा रहेका व्यक्तिहरूका लागि यो उत्कृष्ट समय रहनेछ । त्यस्तै वैदेशिक प्रयोजनका परामर्शदातृ संस्थामा सक्रिय हुनुहुन्छ भने यस अवधिमा विशेष लाभ लिन सक्नुहुन्छ । तृतीय भावमा समेत सूर्यको पूर्णदृष्टि रहने हुँदा यस अवधिमा आफ्नो सर्कलमा तपाईंको नाम र व्यक्तित्वको चर्चा/परिचर्चा हुनेछ, तपाईंका धारणा र विचारको चासो राखिने छ, साथै कुनै पनि तर्क, बहस वा वादविवादमा विजय प्राप्त गर्न सक्नुहुन्छ । समग्रमा भन्ने हो भने यो नयाँ कुरो सिक्ने, त्यसलाई अम्मल गर्न कोसिस गर्ने र आफ्नो इज्जत र प्रतिष्ठा बढाउने सुन्दर समय हो ।
तर अल्छीपन र अकर्मण्यता यस समयका बाधक हुन् भन्ने बुझेर चल्नुपर्ने समय पनि हो । यस महिना राशिस्वामी मङ्गलले कर्मक्षेत्रमा प्रवेश गर्दैछ, दशम भावमा बसेको मङ्गलले तपाईंको शिरमा अर्थात् लग्नमा, चतुर्थ भावमा र पञ्चम भावमा पूर्ण दृष्टिले देख्दछ । यसको प्रभावले लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । उच्च पदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ, जसबाट लाभान्वित बन्नुहुनेछ । व्यवसायिक क्षेत्र र व्यापारको विस्तार हुनेछ । त्यस्तै सप्तमेश शुक्रले समेत दशम र एकादश भावको यात्रा गर्नेछ, दाम्पत्य जीवनमा यसले सकारात्मक र उत्तम फल प्रदान गर्नेछ । अष्टमेश बुधले महिनाको मध्यभागमा नवम भावको यात्रा गर्ने हुँदा यस अवधिमा दाजु वा पिताको स्वास्थ्यस्थितिप्रति सचेतता अपनाउनु पर्ने हुन्छ । यो महिना अशुभ फलको निवारण होस् र अझ धेरै शुभफल प्राप्त होस् भन्ने उद्देश्यले यस महिनाका हरेक आइतवारका दिन कुनै मन्दिरमा गएर सक्खर र गहुँ दान गर्नु उत्तम हुनेछ । यस महिनाको ०२, ०३, ०४, ११, १२, २०, २१, २२, ३० र ३१ गते अरु दिनका तुलनामा केही कमजोर समय ठहरिने सम्भावना छ ।
0 Comments