सुनकोशीमा बेथिति: ४९ हजारको खसीमा ५८ हजारको मसला !

 सुनकोशीमा बेथिति: ४९ हजारको खसीमा ५८ हजारको मसला ! 

ओखलढुंगाको सुनकोशी गाउँपालिकामा बेथिति मौलाएको छ । परिणाममुखी भन्दा पनि वितरणमुखी कार्यक्रम, भ्रमण, इन्धन, अनुगमन, खरिद र खाना, खाजालगायतका शिर्षकमा पालिकाले गर्ने गरेको फजुल खर्चले आर्थिक अनियमितता र बेथिति बढेको देखाएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने प्रावधान भएपनि सुनकोशीले ऐन विपरित खर्च गर्ने गरेको खुलेको छ ।

महालेखा परीक्षकलेको कार्यालयले सुनकोशी गाउँपालिकाको बेतिथि महालेखा परीक्षण प्रतिवेदनमा औंल्याएको छ ।

मलेपको प्रतिवेदन अनुसार एउटा गाउँसभामा सुनकोशीले ४९ हजारको खसीमा ५८ हजार १ सय ५ रुपैंयाको मसला प्रयोग गरेको छ ।

सुनकोशीले २०८१ असारमा धनबहादुर तामाङसँग सभा सञ्चालन हुँदा खसी खरिद शिर्षकमा ४९ हजार खर्च गरेको छ । सोही मितिमा मसला खरिदमा ५८ हजार १ सय ५ रुपैंया खर्च देखाएको छ ।

१ दिनको फरकमा खसी र मसलाको रकम भुक्तानी भएको छ ।

गोश्वारा भौचर नम्बर २९५, मिति २०८१ असार २४ गते ४९ हजार रुपैंया खसी खरिद वापतको भुक्तानी गरेको पालिकाले त्यसको अघिल्लो दिन मिति २०८१ असार २३ गते गोश्वारा भौचर नम्बर २८९ अनुसार दोर्जे नाम्गेल होटलबाट साबुन, तेल, मसला, जिरा र प्याज खरिदमा ५८ हजार १ सय ५ रुपैंया भुक्तानी गरेको छ ।

५० लाख १३ हजार २ सय २७ रुपैंया ४६ पैसा आन्तरिक आय भएको सुनकोशीले १२ लाख ७० हजार ६ सय ४५ रकम यस्तै विविध शिर्षकमा खर्च गरेको छ । आन्तरिक आयको २५ प्रतिशत विविधमा गरेको जुन खर्चलाई महालेखाले त्रुटिका रुपमा औंल्याएको छ ।

मलेपले त्रुटी देखाएर उल्लेख गरेकाे विवरण ।

खसी भन्दा महंगाे मसला किनेको विषयमा विषयमा सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले एउटै खसीमा प्रयोग गरिएको मसलाको मात्रै नभई अन्य खर्चलाई पनि सोही बिलमा भुक्तानी दिइएको हुनसक्ने प्रतिक्रिया दिए । ‘त्यत्रो खर्च एउटा खसी पकाउने मसलामा मात्रै भन्ने कुरा त पत्याउने कुरा हुँदैन । अघिपछि त्यो होटलमा खाना खाजा खाएको वा अन्य शिर्षकको रकम पनि त्यहि बील देखाएर मिलाएको होला यो सामान्य कुरा हो ।’ कार्कीले भिजनसँग भने ।

सुनकोशीले कार्यपालिका बैठक र गाउँसभा सञ्चालनमा खाना, खाजा यस्तै अन्य  शिर्षकमा पनि मोटो रकम खर्च गर्ने गरेको छ ।

भ्रष्ट्राचारको गन्धदिने गरी मसला प्रयोग गर्नुले सुनकोशीको आर्थिक अनियमितता सतहमा आएको एक स्थानीयले बताए । ‘नागरिकको करबाट जम्मा भएको रकम विकास र जनसेवामा भन्दा जनप्रतिनिधिको सेवा, सुविधा र भोज भतेरमा सक्नु दुखद् हो ।’ नाम गोप्य राख्ने सर्तमा उनले भने, ‘यो पालिकामा जनताले प्रश्न गर्न पाउँदैनन् । जनप्रतिनिधि सबै मिलेर मच्चाएको बेतिथि भएकाले एकले अर्कालाई साथ दिन्छन् । आँखै अघि अनियमितता देख्दा पनि टुलुटुलु हेरेर बस्नु परेको छ ।’ सुनकोशीमा सुशासन, पारदर्शीता र जवाफदेहीता कमजोर बनेको र पालिका प्रति नागरिकको असन्तुष्टि बढ्दै गएको स्थानीयहरु बताउँछन् । 

भिजन समाचारबाट साभार



Post a Comment

0 Comments