राजावादी प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजकको मृत्युबारे भिज्युअल अनुसन्धान रिपोर्ट सार्वजनिक

 राजावादी प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजकको मृत्युबारे भिज्युअल अनुसन्धान रिपोर्ट सार्वजनिक


काठमाडौँ । गत १५ चैतमा राजधानीको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा आगलागीमा परी ज्यान गुमाएका पत्रकार सुरेश रजकको विषयमा तयार पारिएको भिज्युअल अनुसन्धान रिपोर्ट सार्वजनिक भएको छ । ‘मिडिया कुराकानी’ले साढे तीन महिना लगाएर गरेको उक्त अनुसन्धानको भिडिओ शुक्रबार सार्वजनिक भएको हो । 

करिब ३३ मिनेट लामो भिडिओमा राजावादी प्रदर्शन सामान्य ढुङ्गा प्रहारबाट सुरु भएर कसरी आगलागीमा परिणत भयो, त्यस बीचमा पत्रकार रजक कहाँ थिए, उनी कतिबेला र कसरी भवनमा प्रवेश गरे भन्ने विश्लेषण गरिएको छ । साथै आगो लाग्न कसरी सुरु भएको थियो, त्यही समयमा उक्त भवन कुन अवस्थामा थियो भन्ने विषयलाई पनि गहन रूपमा समेटिएको छ ।

भवनमा आगलागी हुँदा रजक कहाँ र कस्तो अवस्थामा थिए, त्यस समयमा भवनमा अरू को थिए, कुन भवनको छतमा प्रदर्शनकारी थिए, आगलागी भइसकेपछिको अवस्था के थियो भन्ने विषय र जलेको अवस्थामा रजकको शव भेटिँदासम्मको घटनाक्रमलाई मिनेट-मिनेटमा विश्लेषण गरिएको छ ।

यो अनुसन्धानका लागि खुला स्रोत अनुसन्धान (OSINT) प्रविधिको प्रयोग गर्दै सामाजिक सञ्जालमा उपलब्ध २०० भन्दा बढी लाइभ तथा रेकर्डेड भिडिओ फुटेज, विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारले खिचेका तस्बिर र भिडिओको मेटाडेटा विश्लेषण गरिएको अनुसन्धान टोलीले जनाएको छ ।

“पत्रकार सुरेश रजकको मृत्युको वास्तविक कारण अझै खुलेको छैन,” अनुसन्धानकर्ता एवं पत्रकार रविराज बराल भन्छन्, “तर पनि ढङ्गा प्रहारबाट सुरु भएको घटनाक्रम कसरी आगजनीसम्म पुग्‍यो ? र, अन्ततः रजकको ज्यान गयो भन्नेबारे हामीले यथासम्भव हालसम्मकै विस्तृत तस्वीर प्रस्तुत गरेका छौं । जसै नयाँ तथ्य सार्वजनिक हुँदै जान्छन् यो खोजमूलक भिडिओ स्टोरी थप अनुसन्धानका लागि सहयोगी बन्ने हाम्रो विश्वास छ ।”  यहाँ क्लिक गरेर भिडिओ हेर्न सक्नुहुन्छ ।  

घटनाक्रमलाई थप स्पष्ट पार्न र पत्रकार रजकको मृत्यु कसरी भयो भन्ने देखाउन आगलागी भएको तीनकुनेस्थित मार्बल हाउसको थ्रीडी मोडेलसमेत निर्माण गरिएको छ । पत्रकार अरुण कार्की, दया दुदराज र रविराज बरालले गरेको खोज, अनुसन्धान तथा लेखनलाई अरुण कार्की र सुरज पौडेलले थ्रीडी मोडेलमा ढालेका हुन् ।

अनुसन्धानको निष्कर्ष प्रस्तुत गर्दै मिडिया कुराकानीले भनेको छ, “हाम्रो अनुसन्धानले देखाउँछ- समयमै आगो नियन्त्रण गर्न सकिएको भए सुरेशलाई बचाउन सकिन्थ्यो । हाम्रो निष्कर्ष छ - यो आकस्मिक दुर्घटना मात्र थिएन, राज्य संयन्त्रको समन्वय विफलताको नतिजा पनि थियो ।”



Post a Comment

0 Comments