भल्गर डान्सको आरोपमा जब मनिषालाई लखेटीलखेटी कुटियो
मनिषा डान्सर एक सार्वजनिक पार्कमा इन्स्टाग्राम रिल्स सुट गरिरहेकी थिइन् । क्यामेरा स्ट्यान्ड बाइ थियो । लाइट ठीकठाक थियो । गीत सुरु भयो । उनी नाच्न थालिन् । तर, केही बेरमै त्यहाँ जे हुनेवाला थियो, त्यसबारे मनिषा पूर्णतः अनभिज्ञ थिइन् ।
मनिषा डान्सर कुनै टीभी स्टार होइनन्, कुनै फिल्मकी हिरोइन वा स्टार किड्स पनि होइनन् । तर, सोसल मिडियामा उनी मनिषा डान्सर भनेर परिचित छिन् । एउटा सानो शहरकी मनिषाको इन्स्टाग्राममा २० लाखभन्दा बढी फलोअर्स, हजारौँ भिडियो अनि लाखौँ भ्युअर छन् ।
उनै मनिषामाथि यही १० जूनमा जे भयो, त्यो नेपाली कन्टेन्ट क्रियटर, सोसल मिडिया इन्फ्लुएन्सर र दर्शकका लागि समेत सान्दर्भिक देखिएकाले घटनाको चर्चा गरिएको छ । घटनासम्बन्धी स्रोतहरू भारतका विश्वसनीय मानिएका सोसल मिडिया र युट्युब च्यानलहरूबाट जुटाइएको हो ।
मनिषा डान्सर नाम गरेकी भारतीय युवतीसँग जोडिएको घटना दिल्लीको सिटी पार्कमा भएको हो । स्थानीय मिडियाका अनुसार, भिडियो भाइरल गराउन सार्वजनिकस्थलमा उत्तेजित डान्स गर्ने यी विवादित युवतीले त्यो दिन भिडबाट पिटाइ खाएकी थिइन्, जसलाई लिएर भारतमा सोसल मिडिया विभाजित देखिन्छन् ।
पार्कमा भिडियो बनाउँदै गर्दा केही युवक उनको छेउमा आए । एउटाले मनिषालाई ‘रिलवाली आइटम’ भन्यो । अर्कोले 'नाचगान बढी भयो, अब घर जा' भनेर आदेश दियो । अर्कोले फेरि, 'यस्तो हर्कत यहाँ चल्दैन' भनेर निर्णय सुनायो ।
सुरुमा मनिषाले सबै नजरअन्दाज गरिन् । तर, केटाहरूले उनलाई धकेलधाकल गर्न थालेपछि उनले प्रतिवाद गरिन् । त्यही प्रतिवादपछि एक जनाले उनलाई जोडसँग थप्पड हान्यो । अब त्यहाँ कुनै तर्क बाँकी थिएन । न त ‘डान्स’ वा ‘रिल्स’को मात्र कुरा रह्यो । केही बेरअघिसम्म उनी नाचिरहेकी थिइन्, अब भिडले नचाउने पालो थियो ।
'यसलाई पाठ सिकाउनैपर्छ, धेरै इन्स्टाग्राम–इन्स्टाग्राम गर्छे' भन्दै उनीमाथि कुटपिट भयो । कपाल समातेर जमिनमा पछारियो । हात, लात, पेटी सबै चलाइयो । उनको साथी बचाउन आइन्, उनको हातै भाँचियो ।
प्रहरी त्यहाँ भए पनि मुकदर्शकजस्तै बन्यो । अचम्म त के थियो भने, केही अगाडि जुन क्यामेरामा मनिषाको डान्स रेकर्ड भइरहेको थियो, अब त्यसैमा उनी कुटिएको भिडियो कैद हुन थाल्यो ।
मनिषा कुटिएको भिडियो इन्टरनेटमा आयो । यसलाई लिएर समाज दुई भागमा बाँडियो । एउटा पक्षले भन्यो, ‘उत्ताउलो नाचमार्फत समाजमा अश्लीलता फैलाइरहेकी थिई, ठीकै गरेछन्, अब त पाठ सिकी होला ।’
अर्को पक्ष भन्छ, ‘अब महिलाले कस्तो लगाएर, कहाँ नाच्ने भन्ने कुरा पनि भिडले तय गर्ने ? भिडले न्याय गर्ने ?’
कतिपयले के पनि प्रश्न गरे भने, 'उनी कुनै हिरोइन वा स्टार किड्स हुन्थिन् भने पनि भिड यति नै क्रूर हुन्थ्यो ? यदि उनी पुरुष हुन्थिन् भने यति सजिलै कुटिन्थिन् ? कसैको कपडा छोटो भयो, कसैले नाच्यो भने त्यसलाई नियन्त्रण गर्न पाउने अधिकार भिडलाई कसले दियो ?'
यसको विपरीत धारणा राख्नेहरूले पनि प्रश्न उठाए, ‘मनिषा डान्सर बारम्बार यस्तै हर्कतका कारण पक्राउ पर्ने, भिडबाट घेरिने गरेकी छन् । उनी सुध्रिनेवाली होइनन् । सार्वजनिकस्थलमा उनले गर्ने नृत्य तपाईं परिवारसँगै बसेर हेर्न सक्नुहुन्छ ?’
यो घटना भारतको भए पनि यसको छाया नेपालमा स्पष्ट देखिन्छ । यहाँ पनि सोसल मिडियामा भाइरल हुने होडमा मनलाग्दी गर्ने प्रवृत्ति बढिरहेको छ । सोसल मिडियामा अश्लील गाली गर्ने हाम्रो बानी नै भइसकेको छ । भिडले अपराध तय गर्ने अनि भिडले नै फैसला गर्ने अभ्यास हाबी हुँदै गएको जानकारहरू बताउँछन् । उनीहरूका अनुसार, भारतकी मनिषा डान्सरको घटनाले नेपाली कन्टेन्ट क्रियटरदेखि दर्शकसम्मलाई केही सन्देश पक्कै दिएको छ ।
जस्तो कि, कन्टेन्ट क्रिएटरहरूले के ध्यान दिनुपर्यो भने, पार्क, बजार, मठमन्दिर वा अस्पतालजस्ता सार्वजनिक र संवेदनशील स्थानमा अरुलाई असहज हुने गरी नाच्ने वा भिडियो बनाउने काम ठीक होइन, यसले सामाजिक आक्रोश वा तनाव निम्त्याउन सक्छ ।
यस्तै, दर्शकसँग पनि कुनै कन्टेन्ट वा पात्र मन नपर्दा अनफलो गर्न पाउने विकल्प हुन्छ । हानिकारक नै भएको अवस्थामा रिपोर्ट गर्न सकिन्छ । कमेन्टमा छिरेर गाली गर्ने, सोसल मिडियामा ट्रोल र चरित्रहत्या गरेर आफूलाई ठूलो देखाउने बानीले समाज झन् भाँडिने समाजशास्त्रीहरू बताउँछन् ।
भारतमा मनिषा डान्सरमाथि जस्तै नेपालमा पनि धेरै मुद्दामा भिडले नै फैसला गर्ने प्रवृत्ति हाबी हुँदै गएको देखिन्छ । कसैले अपराध गर्छ भने त्यसको समाधान प्रहरी हो, अदालत हो, भिड होइन भन्ने सन्देश पनि मनिषा डान्सरको घटनाले दिएको छ । नेपालमा प्रहरीको साइबर ब्युरो छ, महिला आयोग छ, मानवअधिकार आयोग छ, कसैले कानुन तोड्यो, सामाजिक सद्भाव बिथोल्यो भने यिनै माध्यमबाट उजुरी गर्न सकिन्छ ।
0 Comments