म्युजियममा राखियो २ सय वर्ष पुरानो कण्डम, के छ विशेषता ?
एम्स्टर्डमको राइक्स म्युजियममा आयोजना गरिएको एक प्रदर्शनीमा २ सय वर्ष पुरानो कण्डम राखिएको छ । यो कण्डम अझै पनि राम्रो अवस्थामा देखिन्छ । विश्वास गरिन्छ कि यो कण्डम भेडाको एपेन्डिक्स (आन्द्राको एक भाग) बाट बनाइएको हो । यसमा एक नन र तीन जना पादरीको तस्वीर अंकित छ ।
यो दुर्लभ वस्तु सन् १८३० को हो र यसलाई म्युजियमले गत वर्ष लिलामीमार्फत किनेको थियो । यो कण्डम १९औँ शताब्दीमा यौन व्यवसाय र यौनिकता (सेक्सुअलिटी) सम्बन्धी प्रदर्शनीको हिस्सा हो । सो प्रदर्शनीमा प्रिन्ट, चित्र र फोटोहरू पनि प्रदर्शन गरिएको छ ।
राइक्स म्युजियमकी क्युरेटर जोइस जेलेनले बीबीसीलाई बताइन् कि जब उनले र उनकी एक सहकर्मीले पहिलोपटक यो कण्डम लिलामीमा देखे, तब उनीहरू हाँस्न थाले । उनले भनिन्, 'कसैले यसको ध्यानै दिएको थिएन । हामी मात्र थियौँ, जसले यसका लागि बोली लगायौँ ।'
कण्डम प्राप्त गरेपछि म्युजियमले अल्ट्राभायोलेट प्रकाशमा यसको परीक्षण गर्यो र पत्ता लगायो कि यसको प्रयोग भएको छैन । जेलेनले भनिन्, 'यो निकै राम्रो अवस्थामा छ ।'
कण्डम कहाँबाट आयो ?
जेलेनका अनुसार यो कण्डम प्रदर्शनीमा राखिएको दिनदेखि म्युजियममा भिड लागिरहेको छ । 'हामीलाई राम्रो प्रतिक्रिया मिलिरहेको छ । युवा होस् वा बुढापाका, सबै यसप्रति उत्साहित देखिन्छन्,' उनले भनिन् ।
जेलेनका अनुसार, यो कण्डम फ्रान्सको कुनै विलासी यौन व्यवसायको अड्डाको 'स्मृति चिह्न' (स्मरण स्वरुप दिइने वस्तु) हुन सक्छ भन्ने मानिएको छ । यस्ता वस्तुहरू अब केवल दुईवटा मात्र बाँकी रहेको बताइन्छ ।
म्युजियमका अनुसार, यो असामान्य वस्तुले त्यस्तो युगमा यौन स्वास्थ्यका उज्याला र अँध्यारा पाटाहरू देखाउँछ, जब यौन आनन्दको खोजीसँगै अवाञ्छित गर्भ र सिफलिस (यौन रोग) को डर हुन्थ्यो ।
0 Comments