टिकटकले अमेरिकामा आजदेखि आफ्नो सेवा किन प्रतिबन्ध गर्दैछ ?

टिकटकले अमेरिकामा आइतवारबाट आफ्नो सेवा 'नचल्ने बनाउन सक्ने'


टिकटकले उसमाथि लगाइने प्रतिबन्ध कार्यान्वयनमा आउनुअघि अमेरिकी सरकारले उपयुक्त हस्तक्षेप नगरे आइतवारबाट अमेरिकामा आफ्नो सेवा "नचल्ने बनाउन" बाध्य हुने बताएको छ।
शुक्रवार अमेरिकाको सर्वोच्च अदालतले दिएको एउटा आदेशपछि टिकटकको यस्तो प्रतिक्रिया आएको हो। अमेरिकी सर्वोच्च अदालतले आफ्नो आदेशमा उक्त चिनियाँ भिडिओ शेअरिङ एपको माऊ कम्पनी बाइटड्यान्सलाई अमेरिकामा चल्ने टिकटक आइतवारसम्म अमेरिकी कम्पनीलाई बिक्री गर्न वा प्रतिबन्ध सामना गर्न बनाइएको कानुनलाई मान्यता दिएको थियो।

अमेरिकी कानुनमा के छ?

गत वर्ष एप्रिलमा पारित भएको उक्त कानुनले बाइटड्यान्सको अमेरिकी संस्करणलाई त्यहाँकै कम्पनीलाई बिक्री गर्न वा पूर्ण रूपमा प्रतिबन्धको सामना गर्न बाध्य पार्छ।

टिकटकले उक्त कानुनलाई अदालतमा चुनौति दिँदै अमेरिकी प्रयोगकर्ताको वाक् स्वतन्त्रताको उल्लङ्घन हुने तर्क गरेको थियो।

तर सर्वोच्च अदालतको आदेशको अर्थ आगामी दिनमा अमेरिकी खरिदकर्ता नभेटिएसम्म एपको अमेरिकी संस्करणलाई एप स्टोर तथा वेब होस्टिङ सेवाबाट हटाउनु पर्छ भन्ने हो।

यो प्रतिबन्धले पहिले नै आफ्नो फोनमा टिकटक एप डाउनलोड गरिसकेका प्रयोगकर्ताहरूलाई असर गर्दैन भन्ने ठानिएको थियो।

यद्यपि प्रतिबन्ध लागु भएपछि अपडेटहरू उपलब्ध नहुने र अन्ततः एप प्रयोगयोग्य नहुने बन्छ।

शुक्रवारको टिकटकको विज्ञप्तिले तुरुन्तै हालका सबै प्रयोगकर्ताहरूको टिकटकको पहुँच समाप्त हुने र कसैले डाउनलोड पनि गर्न नमिल्ने सङ्केत गरेको छ।



राष्ट्रपति जो बाइडनको कार्यकाल सोमवार सकिँदैछ र त्यसै दिन डोनल्ड ट्रम्पले राष्ट्रपतिको रूपमा शपथग्रहण गर्ने छन्।

ह्वाइट हाउसले यसअघि नै कानुन लागु गर्ने विषय आगामी राष्ट्रपतिमा निर्भर गर्ने बताइसकेको छ।

ट्रम्पले सुरुमा यो कदमलाई समर्थन गरेका थिए तर पछि उनले आफू प्रतिबन्धविरुद्धमा रहेको सङ्केत गरेका छन्।

"म टिकटकबारे धेरै पछि गएर मात्र निर्णय लिन्न तर परिस्थितिको मूल्याङ्कन गर्ने मसँग पर्याप्त समय चाहिँ हुनुपर्छ," उनले शुक्रवार भने।



उनले आफूले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग कुराकानी गरेको र टिकटकलगायतका विषयमा पनि छलफल गरेको खुलासा समेत गरेका छन्।

गत डिसेम्बरमा ट्रम्पले एपको लागि आफूसँग "न्यानो स्थान" रहेको बताएका थिए।

सन् २०२४ को चुनावमा युवा मतदाताहरूलाई प्रभावित गर्न टिकटकले मद्दत गरेको भन्दै उनले त्यस्तो बताएका थिए।

यद्यपि ट्रम्पले आफ्नो पहिलो राष्ट्रपतीय कार्यकालमा कार्यकारी आदेशमार्फत् समान खालको प्रतिबन्ध लगाउन खोजेका थिए।

  टिकटकले अमेरिकामा आजदेखि आफ्नो सेवा किन प्रतिबन्ध गर्दैछ ? 


Post a Comment

0 Comments