मेयर बालेन र डा. सन्दुक रुइतको गोप्यवार्ता भन्दै भाइरल भएको वास्तविक भिडियो यस्तो थियो

 मेयर बालेन र डा. सन्दुक रुइतको गोप्यवार्ता भन्दै भाइरल भएको वास्तविक भिडियो यस्तो थियो 


बालेन-सन्दुकको गोप्य वार्ता भन्दै भाइरल भिडिओ भ्रामक छुट्टाछुट्टै पुराना क्लिप जोडेर
काठमाडौँ । सामाजिक सञ्जालमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइत र हामी नेपालका संस्थापक सुदन गुरुङको भनिएको भिडिओ क्लिपलाई सनसनीपूर्ण तरिकाले भाइरल बनाइएको छ । १ मिनेट २१ सेकेन्ड लामो उक्त भिडि‌ओमा गोप्य बैठक बसेको भिडिओ बाहिरिएपछि सन्दुक रुइत र बालेन तनावमा रहेको दाबी गरिएको छ । 

उक्त भिडिओबाट उनीहरूको वास्तविक चरित्र देखिएको गरिएको छ । तर टेकपानाले तथ्यजाँच गर्दा फरक फरक तीन सन्दर्भको भिडिओलाई जोडेर उक्त भिडिओ बनाइएको र सनसनीपूर्ण तरिकाले भाइरल गराइएको पुष्टि भएको छ ।

दाबी

आइतबार बिहान ६:४१ मा ‘Sudarshan Khabar’ नामक फेसबुक पेजले “निकै गम्भिर र गोप्य भिडीयो बाहिरीय पछि तनाबमा सन्दुक र बालेन” भन्दै १ मिनेट २७ सेकेन्ड लामो क्लिप राखेको छ । उक्त भिडिओमा डा सन्दुक रुइत र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह स्वास्थ्य सम्बन्धी विषयमा छलफल गरिरहेका सुनिन्छन् । 

उक्त भिडिओमा यो सामग्री तयार पार्दा सम्ममा २ लाख ४८ हजार बढी भ्युज, तीन हजारभन्दा धेरै लाइक आएका छन् । उक्त भिडिओलाई १३ सयभन्दा धेरैले शेयर र २५६ जनाले कमेन्ट गरेका छन् । हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट 

अनुसन्धान 

उक्त भाइरल क्लिपमा मुख्य गरि तीन फरक फरक सन्दर्भका क्लिपलाई लिइएको स्पष्ट देखिन्छ । पहिलो सन्दर्भमा डा सन्दुक रुइत र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह कफी खाँदै कुराकानी गरिरहेका छन् । विशेषगरि उनीहरूले सार्वजनिक स्वास्थ्य सेवाको बारेमा उक्त भिडिओमा कुराकानी गरिरहेको देखिन्छ । सो क्लिप भाइरल भिडिओको पहिलो ४३ सेकेन्डमा देखाइएको छ । 

दोस्रो क्लिपमा डा सन्दुक रुइतले हामी नेपाललाई मेन्टरशिप गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । जहाँ उनले भनेका छन्, “हामी नेपालका साथीहरूलाई म मेन्टर हुन पाएकोमा खुसी हुन्छु जस्तो लाग्छ । त्यस्ता युथहरू मैले सयौँ, हजारौँलाई मेन्टर गरेको होला । इफ दे क्यारी माइन मेन्टरशिप अफ गुड पर्पोज, आई एम…” 

एक मिनेटपछि तेस्रो सन्दर्भमा ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङको भिडिओ राखिएको छ । जहाँ गुरुङ आफ्नो संस्थाका लागि सन्दुक रुइतबाट कार्यालय प्राप्त भएको बताइरहेका छन् । 

भाइरल भिडिओको क्लिपमा गुरुङले भनेका छन्, “अफिस हामीलाई सन्दुक रुइतले दिनु भएको छ । वि आर इन हिज अफिस । ‘तिमिहरूलाई जेजे चाहिन्छ म दिन्छु । तिमीहरूलाई कसरी काम गर्नु छ ।’ सो दे आर बेसिकल्ली हामी नेपालको फादर, हामी नेपाल बच्चाहरू । हामी नेपालको प्यारेन्ट्स भनेको बार्बारा फाउन्डेसन र डा सन्दुक रुइत हो ।” 

आफूहरूले जुनसुकै काम गर्नुभन्दा पहिला डा सन्दुक रुइतसँग सल्लाह लिने गरेको कुरा गुरुङले बोलिरहेको उक्त क्लिपमा सुनिन्छ ।  हामीले उक्त भिडिओहरूको वास्तविकता पत्ता लगाउन सबैभन्दा पहिला सन्दुक र बालेनको कुराकानी भइरहेको क्लिपबाट स्क्रिनशट लिएर गुगल रिभर्स इमेज सर्च गरेर हेर्‍यौँ । 

यसरी हेर्दा २१ सेकेन्ड लामो उक्त भिडिओ अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि शेयर गरेको पाइयो । सामाजिक सञ्जाल एक्समा ‘@joshiyogesh93’ युजरनेम रहेका प्रयोगकर्ता ‘म पनि GenZ’ ले २६ अक्टोबर दिउँसो १२:३९ मा उक्त भिडिओ शेयर गरेका छन् । 

क्याप्सनमा उनले लेखेका छन्, “बालेन र डा.रुइत लाई भगवान मान्नेहरु हेर्नोस त भगवान हरु कहाँ बाट परिचालित छन र के के गर्दै छन देशको लागि ??” हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 


फेसबुक प्रयोगकर्ता ‘Mahesh Chaulagain’ ले पनि २६ अक्टोबर बिहान ७:३९ बजे सोही दाबी सहित उक्त भिडिओ राखेका छन् । उनले लेखेका छन्, “सार्वभौमिकता जलाउनेहरु अब बिस्तारै सार्बजनिक हुँदै छन ।

बिस्तारै रहस्यको पर्दाहरु खुल्दै छन । सेलिब्रेटीहरुले देश कस्तो बनाउदै छन नेपाली जनताले बिस्तारै बुझ्ने दिन आउदैछ्न । अब एउटा पंक्तिले छ्ठ पछि मारवाडी समुदाय प्रती र धार्मिक रूपमा हिन्दुको नामाबाट हिंसा भड्काउने परिस्थिति देखिदैछ । जसले देशमा उधोग ब्यपारमा लगानी गर्ने मारवाडी समुदायको लगानीलाई भारत फर्काउनु पर्ने ठाउँमा पुग्दैछ ।” हेर्नुहोस् उनको पोस्ट र स्क्रिनशट । 


अर्का फेसबुक प्रयोगकर्ता ‘King is always king’ ले २६ अक्टोबर नै उक्त भिडिओ राख्दै लेखेको छ, “बालेनको मुखुण्डो खुल्दै छ बिस्तारै यो भिडियो पनि AI ले बनायो भन्न बेर छैन ।” हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।

 सोही दाबी ‘नेपाली हुनुमा गर्व गर्छौ ’ नामक फेसबुकले पनि गरेको छ । भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् । 

हामीले यसरी खोज्ने क्रममा भिडिओको वास्तविक स्रोत पनि फेला पार्‍यौँ । ‍‘Rhythm online tv’ ले करिब ३ वर्ष पहिला (२२ जनवरी २०२३) राखेको एउटा भिडिओ फेला पर्‍यो । “Dr Sanduk Ruit लाई बधाई दिन पुगे Balen । महानगरको काम तथा भाबी योजनामा यस्तो छलफल। Exclusive” शीर्षकसहित  १२ मिनेट लामो उक्त रिपोर्ट राखिएको छ । 

रिपोर्टमा बहराइनको इशा अवार्डबाट १० लाख अमेरिकी डलरसहित रुइत सम्मानित भएपछि बालेन भेट्न गएको उल्लेख छ । सो भिडिओ ७० हजारभन्दा बढी पटक हेरिएको छ । 

उक्त भिडिओमा कोठामा छलफल भइरहेको छ भने सो कोठामा क्यामेरापर्सन बाहेक ६ जना उपस्थित भएको देखाइएको छ । जहाँ मिचिएको सरकारी जग्गा काठमाडौँ महानगरले फिर्ता ल्याएको, महानगरले उपलब्ध गराउने सार्वजनिक स्वास्थ्य सेवा र आगामी काम लगायतका विषयमा छलफल भएको छ । 

उक्त भिडिओको ३ः२१ मिनेटदेखि ३ः२५ मिनेट सम्मको क्लिप र भाइरल भिडिओको पहिलो ६ सेकेन्डको क्लिप समान रहेको पाइयो । तर भाइरल भिडिओमा भने ओरिजनल भिडिओबाट विभिन्न क्लिपहरू क्रप गरेर राखिएको छ । हेर्नुहोस् ‘Rhythm online tv’ ले राखेको बालेन र सन्दुक रुइतको भेटघाट भएको भिडिओः 


उक्त भिडिओमा भनेको जस्तो इशा अवार्ड पाएपछि बालेन र डा रुइतको भेट हो की होइन भनेर जाँच्न हामीले भिडिओको प्रकाशन भएको मितिलाई रुइतले सम्मान पाएको समाचारहरूसँग दाँजेर हेर्‍यौँ । १७ जनवरी २०२३ मा कान्तिपुरले डा रुइतले १३ करोड नेपाली रुपैयाँ बराबरको सम्मान पाएको समाचार  प्रकाशन गरेको फेला पर्‍यो । उक्त समाचारको पाँच दिनपछि बालेन र रुइतको भिडिओ सार्वजनिक हुनुले सो भेटको सन्दर्भ पनि पुष्टि भयो । 

त्यसपछि हामी भाइरल भिडिओमा राखिएको दोस्रो सन्दर्भको क्लिपको वास्तविकता पत्ता लगाउन तर्फ लाग्यौँ । त्यसका लागि सन्दुक रुइतले हामी नेपालको बारेमा बोलेको भिडिओ कहिलेको हो भनेर पत्ता लगाउने कोसिस गर्‍यौँ । ‘सन्दुक रुइत बार्बारा फाउन्डेसन हामी नेपाल’ भनेर गुगल सर्च गर्दा जेनजी आन्दोलन पछि सन्दुक रुइतले गरेको पत्रकार सम्मेलनका विभिन्न क्लिपहरू फेला परे । उक्त पत्रकार सम्मेलन डा रुइतले जेनजी आन्दोलनका लागि हामी नेपाललाई सघाउन बार्बारा फाउन्डेसनले फन्डिङ दिएका लगायतका आरोपको खण्डन गरेका छन् । 

पत्रकार सम्मेलनमा डा रुइतले आफूले हामी नेपाललाई कार्यालय दिएर सहयोग गरेको स्वीकार गरेका छन् । मेलम्चीमा बगिरहेको महिलाको उद्दार लगायतका काममा हामी नेपालले गरेको कामको प्रशंसा गर्दै आफूले मेन्टरको भूमिका निभाएकोमा खुसी लागेको समेत उनले बताएका थिए । 

तर, पछिल्लो एक वर्षभन्दा लामो समयदेखि हामी नेपालले छुट्टै कार्यालय स्थापना गरेर बस्न थालेको र सो यता सम्पर्कमा नरहेको उनले पत्रकार सम्मेलनमा बताएका थिए । त्यसैले जेनजी आन्दोलन बार्बारा फाउन्डेसनबाट कुनै फन्डिङ नदिएको उनले बताएका थिए । 

उक्त भिडिओ विभिन्न सञ्चारमाध्यमले आफ्नो सामाजिक सञ्जालमा राखेका छन् । भाइरल भिडिओमा राखिएको क्लिप भने ‘Nepal news network’ ले १४ सेप्टेम्बरमा राखेको भिडिओसँग मेल खायो । “Hami Nepal र अहिलेको Gen Z आन्दोलनलाइ सहयोग गर्ने Barbara Foundation र Dr. Sanduk Ruit” शीर्षकमा राखेको १२ मिनेट पाँच सेकेन्ड लामो भिडिओमा उक्त क्लिप समावेश छ । सो क्लिप हेर्नलाई यहाँ क्लिक गरेर ३ मिनेट २६ सेकेन्डमा जानुहोस् । 

त्यसपछि हामीले भाइरल भिडिओमा भएको तेस्रो सन्दर्भ अर्थात् सुदन गुरुङले हामी नेपाललाई बार्बारा फाउन्डेसनको सहयोग रहेको बताएको भिडिओ खोज्यौँ । खोज्दै जाँदा प्राइम टेलिभिजनले साँढे २ वर्ष भन्दा पहिला गुरुङसँग लिएको अन्तर्वार्ताको क्लिप अहिले भाइरल बनाएको पाइयो । 

उक्त क्लिप ब्याच नं ५ नामक कार्यक्रममा प्रस्तोता विराज श्रेष्ठसँग गुरुङले दिएको अन्तर्वार्ताको हो । उक्त भिडिओ १० फेब्रुअरी २०२३ मा प्राइम एचडीको युट्युब च्यानलमा सार्वजनिक भएको छ । अन्तर्वार्तामा प्रशासनिक खर्चलाई सकेसम्म जोगाउन खोजेको गुरुङले बताएका छन् । 

यसमा पैसा लगाउनुको सट्टामा उक्त रकम सहयोगमा लगाउने गरेको उनले भनेका छन् । सोही सन्दर्भमा भिडिओको २४ मिनेट ३५ सेकेन्डबाट उनले कार्यालयका लागि डा सन्दुक रुइतको सहयोग मिलेको बताएका हुन् । सोही क्लिपलाई नै ‍जेनजी आन्दोलनपछि भाइरल गराएको पाइएको हो ।   भिडिओ हेर्नुहोस् ।


उक्त क्लिपलाई लिएर जेनजी आन्दोलन लगत्तै समेत भाइरल बनाइएपछि सन्दुक रुइतले पत्रकार सम्मेलन गरेरै स्पष्टीकरण दिएका हुन् । 

दाबी

बालेन र सन्दुकले गोप्य वार्ता गरे । 

दाबीकर्ता

‘Sudarshan Khabar’, ‘म पनि GenZ’, ‘Mahesh Chaulagain’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य

टेकपानाले भाइरल भएको भिडिओको विश्लेषण गर्दा उक्त भिडिओ फरक फरक तीन समय र सन्दर्भका दृश्यहरू जोडेर बनाएको भेटियो । पहिलो क्लिप २२ जनवरी २०२३  मा ‘Rhythm Online TV’ ले अपलोड गरेको भिडियोबाट लिइएको छ । 

जसमा डा. सन्दुक रुइत र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहबिच सार्वजनिक स्वास्थ्य तथा आगामी योजनाबारे छलफल भइरहेको देखिन्छ । सो भेट रुइतले बहराइनको इशा अवार्ड प्राप्त गरेपछि बालेनले बधाई दिन गएको प्रसङ्गको हो ।

भाइरल भिडिओको दोस्रो भाग १४ सेप्टेम्बर २०२५ मा डा रुइतले आयोजना गरेको पत्रकार सम्मेलनको क्लिप हो । उक्त भिडिओ  ‘Nepal News Network’ ले अपलोड गरेको छ ।  त्यसमा डा. रुइतले ‘हामी नेपाल’ लाई मेन्टरको रूपमा सहयोग गरेको र कार्यालय उपलब्ध गराएको स्वीकार गर्दै बार्बारा फाउन्डेसनबाट कुनै फन्डिङ नभएको स्पष्ट गरेका छन् ।

भिडिओको तेस्रो भाग भने २०२३ फेब्रुअरी १० मा ‘Prime HD Television’ ले प्रसारण गरेको अन्तर्वार्ताबाट लिइएको हो । जहाँ ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले आफ्नो संस्थालाई डा. रुइतले कार्यालय सहयोग गरेको बताएका छन् । उक्त भिडिओ ३२ महिना पुरानो हो । पछिल्लो एक वर्ष भन्दा लामो समयदेखि छुट्टै कार्यालयबाट हामी नेपाल सञ्चालनमा रहेको रुइतले १४ सेप्टेम्बरको पत्रकार सम्मेलनमार्फत नै स्पष्ट पारिसकेका छन् । 

निष्कर्ष

भाइरल भिडिओमा देखाइएको दृश्यहरू कुनै एउटा गोप्य बैठकका होइन । सो भिडिओ फरक फरक समयमा र प्रसङ्गमा खिचिएका तीन छुट्टाछुट्टै भिडिओका क्लिपहरू हुन् । पहिलो क्लिप २०२३ जनवरीमा डा. सन्दुक रुइतलाई इशा अवार्डको बधाई दिन बालेन जाँदाको हो । 

दोस्रो क्लिप गत सेप्टेम्बरमा सन्दुक रुइतले गरेको पत्रकार सम्मेलनको हो । जहाँ उनले हाल हामी नेपाल आफ्नो सम्पर्कमा नरहेको स्पष्ट पारेका छन् । र, तेस्रो क्लिप २०२३ फेब्रुअरीमा प्राइम टेलिभिजनमा प्रसारण भएको सुदन गुरुङको अन्तर्वार्ताको अंश हो । यी दृश्यहरूलाई सन्दर्भहीन रूपमा जोडेर गोप्य वार्ता भन्दै सनसनीपूर्ण बनाउन खोजेर भ्रम फैलाएको पुष्टि हुन्छ ।



Post a Comment

0 Comments