फेसबुक र युट्युबले नेपाललाई फ्रीमा चलाउन दिन्छ र पनि किन बन्द गर्यो सरकारले , फ्रीमा चलाउन दिँदा पनि कसरी धनी छन् यी कम्पनी हरू
सोच्नुभएको छ ? फेसबुक र गुगल विश्वकै ठूला पूँजीवादी उत्पादन हुन् । यी दुबै निःशुल्क छन् । कमाइका हिसाबले गुगल विश्वको दोस्रो ठूलो कम्पनी हो तर विश्वभर यसको मुख्य उत्पादन प्रयोग गर्दा कुनै शुल्क तिर्न पर्दैन ।
युट्युब, गुगल म्याप, क्रोम ब्राउजर, गुगल सर्च र जिमेलजस्ता मुख्य उत्पादन अमेरिकी जनतालाई मात्रै नभई विश्वभर बिनाकुनै शुल्क चलाउन सकिन्छ र यसले अरबौं मान्छेलाई दैनिक लाभ पुऱ्याइरहेको छ ।
इमेल खाता सञ्चालन गर्न, त्यसलाई आक्रमणबाट सुरक्षित गर्न र बर्सौंसम्म डेटा सेन्टरमा स्टोर गर्न ठूलो खर्च लाग्छ । तर त्यो खर्च तपाईंले तिर्न पर्दैन । तपाईंले काठमाडौंको गल्लीमा गुगलम्याप चलाउँदा स्याटेलाइटदेखि भौतिक पूर्वाधार र करोडौंमा तलब बुझ्ने आइटी-जनशक्तिको तलब बेहोर्नु पर्दैन ।
विश्वकै एक नम्बर सोसल मिडिया फेसबुकमा संसारभरका पत्रपत्रिका र खबर निःशुल्क छ । तपाईंका हजारौं फोटा, भिडियो र डेटा त्यहाँ सुरक्षित छ । यसको वैयक्तिक प्रयोगमा कुनै शुल्क तिर्न पर्दैन । आफ्नै देशको मोबाइल कम्पनीले एक मिनेट कुरा गरेको पैसा लिन्छ तर फेसबुक मेसेन्जर या ह्वाट्सएपबाट विश्वभर अनलिमिटेड निःशुल्क कुराकानी गर्न सकिन्छ । यो निकै ठूलो सुविधा हो ।
फेसबुक या गुगलले गरिबबाट पैसा उठाएर धनीलाई झन् धनी बनाउने पनि होइन । तपाईंको सूचना जम्मा गरेर बेचेर खान्छन् भन्ने आरोप त लगाउन सकिन्छ तर फेसबुकमा मेरो सूचना भनेको उमेर समूह, मेरो रुचि, मेरो लोकेशन र मलाई मन पर्ने सामग्रीहरूबारेको सूचना न हो । यो त मैले आफै शेयर गरेको सूचना हो र यो करोडौं मूल्यको पनि होइन । मेरो निजी सूचना कसैले किन्ने पनि होइन । यिनै सूचनाहरूका आधारमा अन्य उत्पादक कम्पनीले के उत्पादन गर्ने र कसलाई बेच्ने भन्ने निर्णय लिन्छन् । फेसबुकका लागि हामी अमूल्य समय दिएर खटिएको तर्क पनि गर्न भ्याउँछन् कसैले । यो खटाइ नितान्त स्वैच्छिक र आफ्नै फाइदाका निम्ति हो ।
हामीले कुनै कम्पनी या बिजनेस खोल्यौं भने कति मार्जिनमा बेच्ने भन्ने सोच हुन्छ । अनौठो त आफ्ना मुख्य उत्पादन यो पृथ्वीमा भएजति मान्छेलाई सित्तैमा बेचेर पनि यिनले खरबौं कमाउँछन् ।
यी कम्पनीले मुट्ठीभरका ठूला ठूला बिजनेस र कम्पनीबाट पैसा जम्मा गर्छन् र धेरैलाई निःशुल्क सेवा दिन्छन् । ठूलाबाट लिएर सानालाई सुविधा दिनु पूँजीवादप्रतिको मेरो बुझाइको उल्टो हो ।
अझ आज आममान्छेलाई समेत विश्वको जुनसुकै कुनामा रहेर पनि कमाउन सक्ने अवसर यिनले दिएका छन् । पत्रिकासम्म पहुँच भएन भने तपाईंले फेसबुकमैं लेखेर कमाउन सक्नुहुन्छ । तपाईंको भिडियो कुनै टेलिभिजनले बजाएन भने फेसबुक या युट्युबले बजाइदिन्छन् । अलिकति पनि सिर्जनात्मकता र क्षमता छ भने जीहजुर नगरी फेमस हुन सकिन्छ । नेपालजस्तो देशमा रहेर, आफ्नै रुचि र खुशीको काम गरेर पनि लाखौं रुपियाँ आम्दानी हुन सक्छ । यो आफैमा ठूलो क्रान्ति हो ।
फेसबुक, अमेजन, युट्युब (गुगल)जस्ता कम्पनीले कसैलाई गरिब नबनाई लाखौंलाई मिलियनेयर बनाएका छन् । शेयर किन्ने धनी पनि मिलियनेयर छन् । त्यसलाई प्रयोग गरेर उत्पादन या सिर्जनात्मकता बेच्नेहरू पनि मिलियनेयर छन् । टिकटकबाट लाखौं नयाँ कलाकार जन्मिएका छन् । लाखौंले आफ्नो सानो व्यापार र कमाइको स्रोत पाएका छन् । आज हरेक नेपाली घरबाट एउटा कन्टेन्ट क्रिएटर बन्न र घरमैं बसी बसी डलर कमाउन सम्भव छ । हिमाल र पहाड़का भिडियो अपलोड गरेर साउदीभन्दा बढ़ी तलब 'कमाउन' सकिन्छ ।
आज सोसल मिडियाकै कारण कति देशले सुशासन पाएका छन्, नयाँ नेतृत्व पाएका छन् । साधनस्रोत नभएका विद्यार्थीले उच्चस्तरको शैक्षिक सामग्री र सूचना पाएका छन् । कति धेरै लुप्तप्रायः संस्कृति र चाडपर्वको पुनरुत्थान भएको छ । कति धेरै परिवार टाढै भएर पनि जोड़िएका छन् । कति धेरै मानवीय र समाजिक सहयोग सम्भव भएको छ । कति धेरै आममान्छेको कमाइको स्रोत पनि बनेको छ ।
अझै त युट्युबे भनेर हेप्ने चलन बाँकी छ भने हिजो सूचनामाथि पत्रिका र टेलिभिजनको एकाधिकार भएको बेला हजारौं सिर्जनशील व्यक्तिहरूको अवस्था कस्तो थियो होला ?
कुनै पनि कुरा राम्रो मात्रै हुँदैन । पक्कै पनि आज सोसल मिडिया या यस्ता उत्पादनले ल्याएका थुप्रै विकृति छन् । सामाजिक र कानुनी जटिलता छन् । तर तिनले पुऱ्याइरहेको र पुऱ्याउन सक्ने असीमित आर्थिक-सामाजिक लाभका सन्दर्भमा ती विकृतिलाई जोखेर मात्रै निष्कर्ष निकाल्नु उपयुक्त हुन्छ ।
नियमनको पहल नै नगरेको भए शायद फेसबुकले नेपाललाई मोनेटाइजेशनको योग्य देशमा राखिहाल्ने थिएन । पहलका निम्ति सरकारलाई धन्यवाद छ । तर सबै कम्पनी र उत्पादनलाई एकै डालोमा राखेर निषेधात्मक कदम नचाल्न र संवादात्मक रूपले फेसबुक या टिकटकबाट लाखौं नेपाली नागरिकले प्राप्त गर्न सक्ने आम्दानी र सामाजिक लाभलाई ध्यानमा राखेर मात्रै कुनै निर्णय गर्न अनुरोध छ ।
0 Comments