सामाजिक अभियन्ता आशिका तामाङलाई पाँच दिन कैद सजायको फैसला
काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले पाँच दिन कैद सजाय र पाँच सय रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।
जिल्ला अदालत भक्तपुरका न्यायाधीश विश्वनाथ भट्टराईको इजलाशले बिहीबार साँझ यो फैसला सुनाएको हो। सोही मुद्दामा प्रतिवादी बनाइएका शरण तिरुवालाई पनि समान सजाय सुनाइएको अदालत स्रोतले जनाएको छ।
घटना २०८१ असोज ४ गते साँगास्थित सूर्यविनायक नगरपालिका–९ र १० जोड्ने झोलुङ्गे पुलमा भएको थियो। पुल तर्दा लाग्ने २० रुपैयाँ शुल्कप्रति आपत्ति जनाउँदै तामाङले सामाजिक सञ्जालमार्फत विरोध जनाएकी थिइन्। त्यसक्रममा उनले रसिद बुक च्यातेको र जलाएको आरोप लागेपछि नगरपालिकाले जाहेरी दर्ता गरेको थियो।
यस आधारमा प्रहरी वृत्त जगातीमार्फत उनीविरुद्ध ‘आपराधिक उपद्रव’ मुद्दा दायर गरिएको थियो। घटनापछि पक्राउ परेकी तामाङलाई अदालतले २०८१ माघ १८ गते प्रारम्भिक सुनुवाइपछि २० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो।
0 Comments