ओखलढुङ्गा का छविको हत्यापछि फरार अभियुक्त १५ वर्षपछि मृत फेला, सुसाइड नोट मा सबै पोल खोले

 ओखलढुङ्गा का छविको हत्यापछि फरार अभियुक्त १५ वर्षपछि मृत फेला, सुसाइड नोट मा सबै पोल खोले


ओखलढुंगा २०६७ साल असार २४ गतेको साँझ ओखलढुंगाको एउटा सानो होटलमा नेकपा एमालेका नेता छविलाल कार्की खाना खाँदै थिए । गाउँठाउँमा सामान्य दिन झैं लागे पनि त्यो साँझ उनको जीवनको अन्तिम क्षण बन्यो ।
राति करिब ९ बजे अचानक होटेलभित्र नकाबधारी समूह पस्यो । रड, खुकुरी र धारिला हतियारले उनीमाथि निर्दयतापूर्वक प्रहार गरियो । प्रतिकार गर्ने क्रममा उनले केही आक्रमणकारीको मास्कसमेत तानेर पहिचान गर्न खोजे । तर, हातखुट्टा भाँचिएका, पेटमा गहिरो चोट लागेका र टाउको फुटेको अवस्थासहित उनलाई स्थानीयहरूले १६ किलोमिटर टाढा रहेको ओखलढुंगा सामुदायिक अस्पताल पुर्‍याए । उपचारकै क्रममा मध्य रातमा उनले अन्तिम सास लिए ।
यो घटना केवल एक जनाको मृत्यु मात्र थिएन, यो ओखलढुंगाको राजनीतिक र सामाजिक जीवनमा ठूलो आघात थियो । उनीमाथि भएको आक्रमण न त केवल राजनीतिक हिसाबकिताब थियो । न कुनै उनले अपराध नै गरेका थिए । छविलाल कार्की एमालेका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य थिए । गाउँदेखि केन्द्रसम्मको राजनीतिमा शालीन व्यवहार, सिद्धान्तप्रति निष्ठा र संगठनप्रतिको समर्पणका लागि उनी लोकप्रिय नेताका रूपमा चिनिन्थे । राजनीति उनका लागि पदको होइन, सेवाको माध्यम थियो ।  
तत्कालीन एमाले नेता नेत्रप्रसाद भट्टराईसँग उनले अस्पतालको बेडमा अन्तिम श्वास लिनुअघि विदुर र जिचार उपनामले चिनिने माओवादीका नेता बाबुराम सुवेदीको नाम उच्चारण गरेका थिए । यही विन्दुबाट अनुसन्धान गर्दा नेता कार्कीको हत्या उनै बाबुराम सुवेदी विदुर नेतृत्वमा रहेको साविक इलाका नं. २ को पार्टी कमिटीको निर्णयकै आधारमा भएको र त्यसमा संलग्नहरूको फेहरिस्त खुल्यो । 
र्कीको हत्यामा दर्जन बढी माओवादी नेताहरू मुछिएका थिए । उनीहरूमध्ये अधिकांशलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो । उनीहरू तोकिएको सजाय भुक्तान गरेर हाल जेलमुक्त भए पनि उनी भने फरार थिए । उनीसँगै उक्त घटनामा संलग्न पक्राउ परेका ८ जनामध्ये ५ जनालाई जन्मकैद र ३ जनालाई तीन वर्षको कैद सजाय जिल्ला अदालत ओखलढुंगाले २०७० सालमा तोकेको थियो ।
फरार उनी माओवादीका उच्च नेताको पहुँचमा रहेकाले प्रहरीले समाउन नसकेको र पछिल्लो समय रोजगारीका लागि माल्दिभ्स तिर बसेका थिए । त्यसअघि उनी लामो समय भारतमा बसेर माओवादीको प्रवास कमिटस्मा काम गरेको स्वयं माओवादी नेताहरू बताउँथे । हालै नेपाल आएका उनी इटहरी स्थित परिवारको सम्पर्कमा गएर हिँडेको केही दिनमा आइतबार सुर्खेतमा पुगेर आत्महत्या गरे । 

सुसाइट नोटमा माओवादी नेतृत्वको आलोचना
केही दिनअगाडि मात्र सुर्खेत आएका सुवेदीले वीरेन्द्रनगर बसपार्कमा रहेको एक होटलमा आइतबार एकाएक आत्महत्या गरे । उनले मर्नुअघि लेखेको सुसाइट नोटमा माओवादी नेतृत्व प्रचण्डको कारण आफूले यस्तो निर्णय लिने परिस्थिति निर्माण भएको उल्लेख गरेका छन् ।

बाबुरामले आत्महत्या अघि आफ्नो डायरीमा श्रीमती, आमा बुवा र छोराछोरीलाई माफी माग्दै लेखेका छन्, ‘प्रिय साथी हिमाल, डिल्ली, ज्ञाननारायण, सुनिता, अनोद...। तिमीहरूको हत्याको बदला स्वरूप यी र यस्ता निर्णय लिनुपर्‍यो ।’ ती दिनहरूमा माओवादी आन्दोलनको नाउँमा भएका हिंसा र व्यक्तिगत प्रतिशोधबीचको गहिरो सम्बन्ध झल्काउँछ । उनले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै लेखेका छन् ।

‘क्रान्ति नेपाली माटोमा एकादेशको कथा जस्तै भए पनि त्यो महान् थियो । भित्रि कुहिएको बास जस्तो नेतृत्वले समर्पण गर्दा देश जनता र हिजोका योद्धा, सहिद परिवार, घाइते बेपत्ताको हालत यो भयो । गोन्जालो, चे ग्वभारा भएको भए बरु सबैले सम्मान गर्थे ।’ उनले जब नेतृत्वभित्रैबाट कुहिन थाल्छ, जब आदर्शहरू सौदा गरिन्छन्, तब यस्ता निर्णय लिइन्छ ।’

सुवेदीको आत्महत्याले ‘क्रान्ति’ का नाममा गरिएको हत्याको औचित्य दिन खोज्दा पनि, त्यो औचित्य नै नभएर अपराधी भएर बाँच्नुभन्दा आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका छन् । उनले आमा बुबाकोे राम्रो सन्तान, श्रीमतीको असल जीवनसाथी र छोरा छोरीको कुशल अभिभावक बन्न नसकेकोमा सान्त्वनासहित माफी मागेका छन् । उनको शव पोस्टमार्टमपछि मृतकका दाजु ईश्वरप्रसाद सुवेदीले बुझिलिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधीरराज शाहीले जानकारी दिए । उनका अनुसार प्रहरीले उक्त घटनामा ज्यानसम्बन्धीको मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

यो घटनामा माओवादीले संस्थागत संलग्नता अस्वीकार गरे पनि अभियुक्तहरूले अदालत र प्रहरी समक्ष त्यस बेलाका पार्टीका अध्यक्ष र शीर्ष नेताहरू प्रचण्ड, रामबहादुर थापा र गोपाल किरातीको आदेश भन्दै बयानमा नाम समेत मुछेका थिए ।

Post a Comment

0 Comments