झाँक्री प्रकाश भुजेलको डा. उपाधि नक्कली, सम्मान दिने संस्था नै नक्कली

 

काठमाडौँ । आफूलाई झाँक्री दाबी गर्ने प्रकाश भुजेल सोमबारदेखि सामाजिक सञ्जाल फेसबुक, टिकटक र एक्सको चर्चामा छन् । फेसबुकमा आफ्नो नामको अगाडि Dr. (डा.) उपाधि राखेपछि उनी ट्रोल बनेका हुन् । चिकित्सा पेसा विपरीत धार मानिने धामी-झाँक्रीले नै ‘डाक्टर’ उपाधि कसरी पाए भन्ने कुराले धेरैलाई अचम्मित तुल्याएको छ ।

भुजेलले भने आफूलाई ‘इन्स्टिच्युट अफ आन्टरप्रेनरशिप एन्ड म्यानेजमेन्ट स्टडिज’ले सम्मान दिएकाले नामको अगाडि ‘डाक्टर’ राखेको दाबी गरेका छन् । तर, टेकपानाको फ्याक्टचेकबाट यो संस्था आफैमा कुनै विश्वविद्यालय नभएको र अन्य कुनै विश्ववद्यालयबाट सम्बन्धन समेत नपाएको देखिएको छ । उक्त संस्थाले तालिमका नाममा यस्ता सम्मान दिने (विक्री समेत गर्ने ?) गरेको र सोही सम्मानका आधारमा भुजेलले आफ्नो नामको अगाडि ‘डाक्टर’ लेखेको पुष्टि भएको हो ।

दाबी

११ अगस्ट २०२५ दिउसो १ः२० बजे प्रकाश भुजेलले आफ्नो फेसबुक अकाउन्टबाट लाइभ (आर्काइभ लिङ्क) गरे । त्यसमा उनले सम्मान पाइरहेको देखाइएको थियो । राति ९ः१६ बजे उनले प्रमाणपत्रको फोटो पोस्ट (आर्काइभ लिङ्क) गरे । उनले क्याप्सनमा लेखेका थिए, “मेरो जीवनकै अमूल्य दिन आज रहेको छ किन थाहा छ हजुरहरुलाई । म यति जिम्मेवार बन्नुपर्नेछ कि मेरो हरेक क्रियाकलाप अबको दिनहरुमा हजुरहरुको यो भन्दा धेरै मन र आत्मा जित्ने खालको हुनेछ...”


मङ्गलबार उनको फेसबुक अकाउन्टमा भेरिफाइड मार्क र नामका अगाडि ‘Dr.’ लेखेको स्क्रिनशट एकाएक भाइरल भयो । शुल्क तिरेकै भरमा फेसबुक, एक्स लगायतमा ब्लु चेकमार्क पाइन्छ । यसरी आफूलाई झाँक्री दाबी गर्दै आइरहेका प्रकाश भुजेलले नामका अगाडि उक्त शब्द राखेपछि केही फेसबुक पेजले समाचार नै बनाएर राखे । अधिकांश प्रचार भने प्रकाश भुजेलले नै सञ्चालन गर्दै आएको ‘नेपाल तान्त्रिक झाँक्री संघ’को पेजबाट भएको छ । यस पेजको नाम यसअघि ‘प्रकाश भुजेल’ नै थियो । एउटै पेजबाट बारम्बार प्रचारात्मक शैलीबाट भिडिओ आउन थालेपछि भुजेलको चर्चा थप चुलिँदै गयो ।

१२ अगस्ट २०२५ मा जुम टिभी नामक फेसबुक पेजमा अपलोड भएको एक भिडिओमा भुजेललाई नामका अघि ‘डा.’ राख्नुको कारण सोधिएको छ । त्यसमा जवाफ दिँदै उनले भनेका छन्, “...म के भन्छु भने, एक पटक रिसर्च गर्नुस् । यो गुगलको जमाना छ । यो विज्ञानको भनेको छ । तर, साथीहरूले अन्धधुन्द बोलिरहनु भएको रहेछ । त्यो त उहाँहरूले नपाएर रहेछ । मैले गरेको काममा ‘जलस’ भएको रहेछ ।

उनले अगाडि भनेका छन्, “म तान्त्रिक डाक्टर हो । तपाईँहरूले एक पटक गुगल गरेर हेर्नुहोला । म अहिले यो विषयमा सबै कुरा भन्दिनँ । मेन कुरा त अवार्ड छ । डाक्टर भन्दा पनि अवार्ड छ…” 

उनले आफूले ‘तान्त्रिक विषयमा अध्ययन’ गरेकाले यो अवार्ड पाएको दाबी गरेका छन् । त्यसपछिका भिडिओमा पनि उनले बारम्बार यही प्रसङ्ग दोहोर्‍याएका छन् ।

अनुसन्धान

प्रकाश भुजेलले खुलस्त रूपमा यो सम्मान ‘इन्स्टिच्युट अफ आन्टरप्रेनरशिप एन्ड म्यानेजमेन्ट स्टडिज’बाट मोरङमा पाएको उल्लेख गरेका छन् । सबैभन्दा पहिले उनले फेसबुकमा सार्वजनिक गरेको प्रमाणपत्र विश्लेषण गरौं ।


प्रमाणपत्रको सबैभन्दा माथि दायाँपट्टि आईएसओ सर्टिफिकेसन नम्बर उल्लेख गरिएको छ । ‘मानार्थ विद्यावारिधि’सँग सम्बन्धित प्रमाणपत्रमा आईएसओ सर्टिफिकेसन नम्बर उल्लेख गरिँदैन । किन कि  ‘इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्यान्डराइजेसन’ले प्राज्ञिक डिग्री प्रदान गर्दैन । 

अब यस संस्थाको नाम तर्फ लागौँ । यसको नेपाली अनुवाद ‘उद्यमशीलता तथा व्यवस्थापन अध्ययन संस्थान’ भन्ने हुन्छ । त्यसको तलपट्टि ‘अटोनोमस भर्चुअल मोड युनिभर्सिटी’ लेखिएको छ । यसलाई नेपालीमा अनुवाद गर्दा ‘स्वचालित भर्चुअल मोड विश्वविद्यालय’ भन्ने हुन्छ । जबकी यस्तो ट्यागलाइन वा सम्बन्धन प्राप्त अन्य कुनै संस्था संसारभर भेटिएनन् । यही ट्यागलाइनका बारेमा तल विस्तृतमा चर्चा गरिएको छ । 

अब यस प्रमाणपत्रमा लेखिएका विवरणमा प्रवेश गरौं । त्यसमा प्रकाश भुजेलको नामको स्पेलिङ नै गलत छ । ‘Prakash’ हुनुपर्नेमा ‘Prakesh’ लेखिएको छ । ‘मानार्थ विद्यावारिधि’ जस्तो सम्मान दिने संस्थाले प्रमाणपत्रमा कम्तीमा मान्छेको नामको त सही लेख्नुपर्थ्यो ।

त्यसैगरी आईएसओ सर्टिफिकेसन पाउँदैमा त्यस संस्थाले कुनै डिग्री वा मानार्थ विद्यावारिधिको सम्मान दिन पाउँछ भन्ने हुँदैन । यहाँ आईएसओ सर्टिफिकेसन राख्नुको कुनै पनि तुक छैन । यसमा प्रयोग गरिएका शब्द, लेखिएको शैली लगायतले प्रमाणपत्रको वैधतामाथि शङ्का गर्नुपर्ने प्रशस्तै सङ्केत दिएको छ । अब यस संस्थाको बारेमा बुझौँ । 


यस संस्थाका दुई ओटा डोमेन भेटिए । एउटा ‘iems.world’ र अर्को ‘iems.institute’ । अहिले ‘iems.world’ डोमेन ब्राउज गर्दा ‘ब्यान्डविथको सीमा सकिएकाले वेबसाइट खुल्न सकेन’ भन्ने सूचना देखिन्छ । 

अर्को वेबसाइट ‘iems.institute’ को हालत पनि उस्तै छ । होमपेज पनि राम्ररी लोड हुँदैन । त्यसमाथि यो अपूर्ण छ । त्यसमा भएका ‘अबाउट अस’, ‘कन्ट्याक्ट अस’ लगायतका कुनै पनि पेज खुल्दैनन् ।


इन्स्टाग्राममा यस संस्थाले आफूलाई भारतको सबैभन्दा ठुलो ‘अनलाइन क्याम्पस संस्था’ दाबी गरेको छ । यस संस्थाले आफूलाई भर्चुअल विश्वविद्यालयका रूपमा चिनाउन खोजेको छ । तर, लोकेसन भने भारत, उत्तर प्रदेशको गाजियावाद उल्लेख छ । गुगल म्याप्समा पनि आईईएमएसको लोकेसन राखिएको छ । तर, लोकेसन भएको ठाउँमा कुनै पनि भवन छैनन् । अब एकछिनको लागि यसलाई साधारण त्रुटि मान्ने हो भने पनि कम्पनीको भौतिक उपस्थितिमाथि शङ्का गर्ने सुविधा दिन्छ । गुगल म्याप्समा आईईएमएसका फोटो राखिएका छन् । तर, ती सबै कार्यक्रममा खिचिएका फोटो हुन् । भौतिक कार्यालय देखिने कुनै पनि फोटो इन्टरनेटमा भेटिएन । न यस संस्थाको वेबसाइट वा सामाजिक सञ्जालमा कतै ती फोटो छन् ।


युट्युबमा एउटा ‘समाचार न्युज’ नामक च्यानलले यस संस्थाको बारेमा एउटा भिडिओ सामग्री बनाएको छ । यद्यपि त्यो च्यानल पनि आधिकारिक देखिँदैन । त्यसमा भएको साउन्ड, भिजुअल लगायतले पनि यो च्यानलको विश्वसनियतामाथि प्रश्न उठाउने पर्याप्त ठाउँ दिन्छ । यसबाहेक अर्को कुनै पनि भारतीय सञ्चार माध्यमले यस संस्थाको बारेमा समाचार बनाएको भेटिदैन । यद्यपि यस संस्थाले समय समयमा यस्ता अवार्ड कार्यक्रम गरिरहेको उसको युट्युब च्यानलमा अपलोड भएका भिडिओबाट पुष्टि हुन्छ । गुगलमा रिभ्यु दिँदै एकजनाले यो फेक युनिभर्सिटी भएको उल्लेख गरेका छन् । “मेटामा विज्ञापन देखेपछि सेप्टेम्बर तिर एउटा सामान्य जिज्ञासा राखेको थिएँ । त्यसपछि एक जना स्टाफले मलाई कल गरे र मेरो शिक्षण अनुभवको आधारमा बिना शुल्क प्रोफेसरको डिग्री दिने बताए । तर त्यसको तीन दिनपछि तिनै स्टाफले युनिभर्सिटी फिको नाममा ६० हजार मागे । त्यो सुनेर मलाई निकै आश्चर्य लाग्यो । यस प्रकारका विश्वविद्यालयबाट टाढै बस्नुहोस्, यो फेक विश्वविद्यालय हो ।” यस संस्थाको ह्वाट्सएपमा सम्पर्क गर्दा त्यहाँका प्रतिनिधिले भने, "हामी निःशुल्क अवार्ड/ प्रोफेस्नल डिग्री उपलब्ध गराउँछौं । तपाईंले आफ्नो रेजुमे, ब्याकग्राउन्ड आदि पठाउनु होला ।" रिभ्यु दिने फरिज राइनले दाबी गरेको जस्तै सुरुवाती चरणमा निःशुल्क उपलब्ध गराउने भनेका छन् ।  

 

भारतमा मानार्थ विद्यावारिधिको प्रमाणपत्र त्यहाँका विश्वविद्यालयहरूले दिन्छन्, जसलाई ‘युनिभर्सिटी ग्रान्ट कमिसन’ (यूजीसी) ले मान्यता दिएको हुन्छ । यूजीसी एक्ट १९५६ अनुसार सेन्ट्रल युनिभर्सिटी, स्टेट युनिभर्सिटी, डिम्ड टु बी युनिभर्सिटी, ओपन युनिभर्सिटिजबाट सम्बन्धन पाएका शैक्षिक संस्थाले मानार्थ विद्यावारिधिको उपाधि दिन पाउँछन् । तर, आईईएमएसले यूजीसीबाट कुनै पनि मान्यता पाएको छैन । तर भारतमा यूजीसीबाट सम्बन्धन नै प्राप्त नगरी विद्यावारिधि वा मानार्थ विद्यावारिधिको उपाधि वितरण गर्ने सङ्घसंस्था छ्यापछ्याप्ती भेटिन्छन् । समय समयमा यूजीसीले यस्ता संस्थाको जालमा नपर्न सचेत गराइरहेको पनि हुन्छ । 

यहाँनिर एउटा सन्दर्भ स्मरणीय छ । कर्नाटक उच्च अदालतले सन् २०१९ मा राज्य तथा केन्द्र सरकार, विश्वविद्यालय अनुदान आयोग लगायतलाई एक आदेश दिएको थियो । जसमा यूजीसीलाई विश्वविद्यालयहरूले प्रदान गर्ने मानार्थ डक्टरेट डिग्री प्रदान गर्ने सन्दर्भमा गाइडलाइन तयार गर्न निर्देशन दिँदै त्यस्तो डिग्रीका लागि नगद’ स्क्याम भएको सम्बन्धमा अनुसन्धान गर्न समेत भनेको थियो ।

पीआईएलको रूपमा दर्ता भएको उक्त रिटमा आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरू समेतलाई निजी तालिम प्रदायक विकास संस्था र विश्वविद्यालयहरूले समेत मानार्थ डक्टरेट डिग्री प्रदान गर्ने प्रवृत्ति प्रति चिन्ता व्यक्त गरिएको थियो ।

त्यसमा दुई निजी संस्था नेसनल भर्चुअल युनिभर्सिटी फर पिस एन्ड एजुकेसन र इन्डियन भर्चुअल एकेडेमी फर पिस एन्ड एजुकेसनले नीति आयोगमा दर्ता भएको दाबी गरेको तर तिनीहरूले कुनै क्षमता नभएको अवस्थामा त्यस्तो डिग्री प्रदान गर्दै आएको सन्दर्भ पनि उल्लेख गरिएको थियो । ती संस्थाहरू सामान्य सीप विकास तालिमका लागि मान्यता प्राप्त भए पनि मानार्थ डक्टरेट प्रदान गर्नका लागि नभएको पाइएको थियो । झट्ट हेर्दा आईईएमएस पनि त्यस्तै संस्था भएको देखिन्छ । 

आईईएमएसले कहीँ पनि आफूले भारतका कुनै शैक्षिक संस्थाबाट सम्बन्धन पाएको उल्लेख गरेको छैन । बरु यसले ‘अमेरिकन काउन्सिल अफ ट्रेनिङ एन्ड डेभलपमेन्ट’ (एसीटीडी) बाट मान्यता पाएको उल्लेख गरेको छ । तर, एसीटीडीको वेबसाइटमा पनि आईईएमएसको मान्य अवधि एक्स्पायर (समाप्त) भएको उल्लेख छ । 

एकछिन यसलाई प्राविधिक त्रुटि मान्ने हो भने पनि एसीटीडीमाथि नै शङ्का गर्ने पर्याप्त आधार छन् । यस संस्थाले आफ्नो कार्यालय अमेरिकाको हथर्न सहरमा रहेको उल्लेख गरेको छ । 

गुगल म्याप्समा यसको लोकेसन पनि छ । तर, त्यसमा उपलब्ध गुगल स्ट्रिट भ्युमा कतै पनि यस संस्थाको भौतिक कार्यालय पुष्टि हुने भवन वा बोर्ड देखिँदैन । यसको शैली र आईईएमएसको शैली ठ्याक्कै मेल खान्छ । 

यस संस्थाको वेबसाइटमा रहेको ‘अबाउट’को सेक्सनमा लेखिएको छ, “ACTD is an independent board established in the United States of America that issued a license certificate from the Secretary of State of New Jersey.”

यसलाई नेपालीमा अनुवाद गर्दा हामीले यस्तो आशय निस्किन्छ, “एसीटीडी संयुक्त राज्य अमेरिकामा स्थापना भएको एउटा स्वतन्त्र बोर्ड हो, जसलाई सेक्रेटरी अफ स्टेट अफ न्यु जर्सीद्वारा इजाजतपत्र जारी गरिएको छ ।” 

यसको अङ्ग्रेजी वाक्य आफैँमा अस्पष्ट छ । यहाँ कसले कसलाई लाइसेन्स जारी गरेको हो भन्ने नै बुझिँदैन । यदि ‘स्टेट अफ न्यु जर्सी’का सेक्रेटरीबाट यसले प्रमाणपत्र पाएको भए सोझै ‘ACTD is an independent board established in the United States of America, licensed by the Secretary of State of New Jersey’ लेख्दा हुन्थ्यो । तर, वाक्य जटिल र अस्पष्ट बनाएकाले यसको मूल आशय वाक्यबाट स्पष्ट हुँदैन ।

संयुक्त राज्य अमेरिकाका ५० मध्ये ‘न्यु जर्सी’ एक राज्य हो । यसलाई ‘स्टेट अफ न्यु जर्सी’ भनेर चिनिन्छ । यही राज्यका सचिवले जारी गरेको लाइसेन्सले आफूले पाएको दाबी उक्त संस्थाले गरेको छ । तर, राज्य सचिवले कुनै काउन्सिललाई एक्रिडिटेसन (मान्यता) जारी गर्नसक्ने इजाजतपत्र दिने पाउने भन्ने विषय नै भेटिँदैन । 

हामीले ‘स्टेट अफ न्यु जर्सी’को वेबसाइटमा ‘एसीटीडी’को नाम खोज्यौँ । तर, कतै भेटिएन । गुगलमा ‘एड्भान्स्ड किवर्ड सर्च’ गरी हेर्दा पनि एसीटीडी र स्टेट अफ न्यु जर्सीको सम्बन्ध खुल्ने कुनै जानकारी फेला परेन । एसीटीडीको वेबसाइटमा मात्र ‘स्टेट अफ न्यु जर्सी’ उल्लेख गरिएको छ । कस्तो इजाजतपत्र हो ?, ‘कुन क्षेत्रमा के गर्ने अनुमति पाएको हो ? केही खुल्दैन । 

अब यसको तल्लो अनुच्छेदमा जाऔँ । त्यहाँ लेखिएको छ, “It provides training development, training programs, supervision of courses and professional programs, accreditation and evaluation service for training institutions and trainers worldwide, and we have an advanced global network with regional offices spread all over the world.

माथिको वाक्य “यसले विश्वभरका तालिम संस्था र प्रशिक्षकका लागि तालिम विकास, तालिम कार्यक्रम, पाठ्यक्रमको सुपरिवेक्षण, व्यावसायिक कार्यक्रम, मान्यता तथा मूल्याङ्कन सेवा प्रदान…” मा तृतीय पुरुष प्रयोग भएको छ । तर, त्यसभन्दा तलको वाक्यमा “...का साथै हामीसँग विश्वभर फैलिएका क्षेत्रीय कार्यालयसहितको एड्भान्स्ड ग्लोबल नेटवर्क छ” अर्थात्प्रथम पुरुषको वाक्य छ । 

अर्थात् एउटै संस्थालाई चिनाउन एउटै हरफमा माथि तृतीय पुरुष र तल प्रथम पुरुषमा छ । यसले व्याकरणीय त्रुटि दर्साउँछ । 

एसीटीडीले आफ्नो वेबसाइटमा एउटा फोटो राखेको छ । जहाँ एक प्रोफेसरले विद्यार्थीलाई पढाइरहेको जस्तो देखिन्छ । गुगल रिभर्स इमेज सर्च गर्दा उक्त फोटो बेलायतको किङ्ग्स कलेज लण्डनबाट कपी गरेको पाइयो । किङ्ग्स कलेज र एसीटीडीको प्रत्यक्ष वा परोक्ष कुनै पनि सम्बन्ध स्थापित हुँदैन ।

यस संस्थाले ४८ देशका शैक्षिक संस्थालाई सम्बन्धन दिएको उल्लेख गरेको छ । अमेरिकामा ‘युनाइटेड स्टेट डिपार्टमेन्ट अफ एजुकेसन’ (यूएसडीई) र ‘काउन्सिल फर हायर एजुकेसन एक्रिडिटेसन’ (सीएचईए) ले शैक्षिक संस्थाहरूलाई शैक्षिक एक्रिडिटेसन वा मान्यता प्रदान गर्ने संस्थालाई स्वीकृति जारी गर्छन् । 

यी दुई संस्थाले एक्रिडिटेसन दिने संस्थाहरूको नियमन गर्दछन् । यस बाहेक ‘प्रोजेक्ट म्यानेजमेन्ट इन्स्टिच्युट’ (पीएमआई) ले प्रोजेक्ट म्यानेजमेन्ट सर्टिफिकेसनका लागि, ‘सोसाइटी फर ह्युमन रिसोर्स म्यानेजमेन्ट’ (एसएचआरएम) ले एचआर ट्रेनिङका लागि र ‘अमेरिकन नर्सिङ क्रेडेन्सियलिङ सेन्टर’ (एएनसीसी) ले नर्सिङ एजुकेसनका लागि मान्यता वा स्वीकृति दिने गर्छन् । यी कुनै पनि संस्थाले नियमन गरेका वा अनुमति दिएका निकायहरूबाट एसीटीडीले मान्यता पाएको भेटिएन । 

एसीटीडीका बारेमा त्यति समाचार पनि छैनन् । नाइजेरियाबाट सञ्चालित ‘टेक क्याबल’ र ‘दिस डे लाइभ’ नामक सञ्चार माध्यमले स्थानीय एक्सिया अफ्रिकालाई एसीटीडीले पूर्ण मान्यता दिएको उल्लेख गरेका छन् । त्यसबाहेक एसीटीडीको नाम उल्लेख भएका समाचार पाइएन ।

विश्वभरका संस्थालाई एक्रिडिटेसन दिने दाबी गर्ने एसीटीडीको युट्युबमा जम्मा ६४ सब्स्क्राइबर छन् । त्यसमा १७ ओटा भिडिओ छन् । ती सबै भिडिओ एआईले तयार पारिएका हुन् । फेसबुकमा यसको पेजमा १७०० फलोअर छन् । इन्टरनेटमा यस संस्थाको न्यून उपस्थिति भएकाले यसबाट सेवा लिएका अन्य संस्था वा व्यक्तिले रिभ्यु दिएको पनि भेटिँदैन । 

यसको लिङ्क्डइन प्रोफाइल समेत भेटियो । जसमा ११-५० जना कर्मचारी भएको उल्लेख छ । तर त्यसमा आबद्ध दुई जना 'कर्मचारी' मात्रै लिंकडिनमा भेटिए, त्यसमा पनि एक जनाले 'बोर्ड मेम्बर एस्थेटिक मेडिसिन प्राक्टिसनर' सन् २०२५ को नोभेम्बरदेखि पार्टटाइम काम गरिरहेको उल्लेख गरेका छन् भने अर्काको प्रोफाइल नै भिजिबल छैन ।


यी विभिन्न तथ्य केलाउँदा यो संस्थाको कुनै भौतिक उपस्थिति नरहेको र एक्रिडिटेसन प्रदान गर्ने मान्यता समेत नपाएको निष्कर्षमा हामी पुग्यौँ । 

अब फेरि भुजेललाई सम्मान दिने आईईएमएस तर्फ नै फर्किउँ । यसले आफूलाई  एउटा तालिम दिने संस्थाको रूपमा चिनाएको छ । तर चिकित्सकीय अभ्यास, चिकित्सा सम्बन्धी डिग्री वा यससँग सम्बन्धित अरू कुनै गतिविधिका लागि यसले कुनै वैध मान्यता पाएको देखिएन । 

मानार्थ विद्यावारिधिको उपाधि दिनका लागि संस्थाले सम्बन्धित देश वा विदेशको सरकारी मान्यता प्राप्त निकायबाट मान्यता वा स्वीकृति पाएको हुनुपर्छ । आईईएमएसले आफूलाई तालिम दिने संस्थाका रूपमा भारतबाट मान्यता पाएको र अमेरिकी संस्था ‘एसीटीडी’बाट सम्बन्धन पाएको उल्लेख गरेको छ । यसलाई मान्यता दिएको भन्ने अमेरिकी संस्था ‘एसीटीडी’को हैसियत हामीले माथि नै खोतली सक्यौँ ।  यी सबै आधारले प्रकाश भुजेलले पाएको मानार्थ विद्यावारिधिको सम्मान नै नक्कली रहेको देखिन्छ । 

दाबी

- झाँक्री प्रकाश भुजेलले आफूलाई डाक्टर उपाधि प्राप्त भएको दाबी गर्दै आफ्नो नामको अगाडि ‘डा.’ (Dr.) उपाधि प्रयोग गरेका छन् ।

-  उनले यो सम्मान ‘इन्स्टिच्युट अफ आन्टरप्रेनरशिप एन्ड म्यानेजमेन्ट स्टडिज’ (आईईएमएस) नामक संस्थाबाट पाएको दाबी गरेका छन् ।

- उनले आफू ‘तान्त्रिक डाक्टर’ भएको र ‘तान्त्रिक विषयमा अध्ययन’ गरेबापत उपाधि पाएको बताएका छन् ।

- आईईएमएसले विभिन्न व्यक्तिलाई मानार्थ विद्यावारिधिको सम्मान वा उपाधि दिने दाबी पनि उनले गरेका छन् ।

 

दाबीकर्ता

आफूलाई झाँक्री भन्न रुचाउने प्रकाश भुजेल

तथ्य 

सम्मान दिने संस्था आईईएमएस आफैँमा शङ्कास्पद छ । यसले प्रदान गर्ने उपाधिको कुनै आधिकारिक मान्यता छैन । यस संस्थाले भारतको ‘युनिभर्सिटी ग्रान्ट कमिसन’ (यूजीसी) वा त्यसबाट स्वीकृति प्राप्त शैक्षिक संस्थाबाटबाट मान्यता प्राप्त गरेको छैन, जुन यस्तो उपाधिका लागि अनिवार्य हुन्छ । यसका साथै संस्थाका वेबसाइट (iems.world, iems.institute) कि त बन्द छन् कि त अपूर्ण र राम्रोसँग नचल्ने अवस्थामा छन् । त्यस्तै गुगल म्याप्समा देखाइएको आईईएमएसको ठेगानामा कुनै भौतिक कार्यालय वा भवनको उपस्थिति देखिँदैन । संस्थाको शङ्कास्पद गतिविधि यसको सम्बन्धनमा पनि देखिन्छ । आईईएमएसले आफूलाई अमेरिकी संस्था ‘अमेरिकन काउन्सिल अफ ट्रेनिङ एन्ड डेभलपमेन्ट’ (एसीटीडी) बाट मान्यता प्राप्त भएको दाबी गरे पनि एसीटीडीको वेबसाइटमा आईईएमएसको मान्यता सकिएको देखिन्छ । अझ रोचक कुरा के छ भने एसीटीडी पनि आफैँमा एक शङ्कास्पद संस्थाको रूपमा देखिएको छ । यसलाई अमेरिकाको कुनै पनि आधिकारिक शैक्षिक निकाय (जस्तै यूएसडीई वा सीएचईए) बाट अनुमतिप्राप्त निकायको मान्यता, स्वीकृति वा सम्बन्धन छैन । र, यसको वेबसाइटमा विरोधाभासपूर्ण जानकारी हुनुका साथै भौतिक उपस्थिति पनि पुष्टि हुँदैन । त्यसैमा कुनै व्यक्तिले मान्यताप्राप्त संस्थाबाटै पनि मानार्थ विद्यावारिधि (Honorary Doctorate) को उपाधि पाएको छ भने उसले आफ्नो नामको अगाडि ‘Dr.’ लेख्नुलाई नैतिक रूपमा गलत र भ्रामक मानिन्छ । तर, यहाँ त्यो सम्मान दिने संस्थाको उपस्थिति नै शङ्कास्पद देखिएको छ ।

निष्कर्ष
टेकपानाले तथ्यजाँचका क्रममा फेला पारेको विभिन्न तथ्यले झाँक्री प्रकाश भुजेलले प्रयोग गरेको ‘डा.’ उपाधि नक्कली भएको पुष्टि गरेको छ । उनलाई सम्मान दिने संस्था ‘इन्स्टिच्युट अफ आन्टरप्रेनरशिप एन्ड म्यानेजमेन्ट स्टडिज’ (आईईएमएस) आफैमा शङ्कास्पद छ र मानार्थ विद्यावारिधिको उपाधि दिनका लागि कुनै पनि आधिकारिक शैक्षिक वा सरकारी निकायबाट मान्यता प्राप्त गरेको छैन । यसलाई सम्बन्धन दिएको भनिएको अमेरिकी संस्था ‘एसीटीडी’ पनि शङ्कास्पद देखिन्छ । उसले पनि अमेरिकाबाट मान्यता दिने किसिमको इजाजतपत्र पाएको देखिँदैन । यी विभिन्न तथ्यका आधारमा भुजेलले पाएको सम्मान र त्यसको आधारमा प्रयोग गरेको उपाधि दुवै अवैध र नक्कली हुन् भन्न निष्कर्ष निकाल्न सकिन्छ ।

प्रकाश भुजेलले आफूलाई तान्त्रिक विधिबाट बिरामीको उपचार गर्ने ‘तान्त्रिक डाक्टर’ भनेर दाबी गरेका छन् । उनले ‘तान्त्रिक/आध्यात्मिक’ कलामा अनुसन्धान गरेकै आधारमा कानुनसम्मत रूपमा आफ्नो नामको अगाडि ‘डा.’ उपाधि जोडेको र यसबारे कानुनी रूपमा लड्न तयार रहेको बताएका छन् ।

तर, बिरामीको उपचार गर्ने चिकित्सकले नामको अगाडि ‘डाक्टर’ लेख्न पाउने वा नपाउने विषयमा नेपालको कानुनले स्पष्ट व्यवस्था गरेको छ । नेपाल मेडिकल काउन्सिल ऐन, २०२० र काउन्सिलको निर्णय अनुसार तल उल्लेख गरिएका मापदण्ड पुरा गर्ने व्यक्तिले मात्र यो उपाधि प्रयोग गर्न पाउँछन् । (२०७८ मा काउन्सिलले जारी गरेको सूचनासँग)

१) आधुनिक चिकित्सामा स्नातक: ‘डाक्टर’ भन्नका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्सा प्रणाली अन्तर्गत चिकित्साशास्त्रमा स्नातक (जस्तैः एमबीबीएस) वा सोभन्दा माथिल्लो उपाधि हासिल गरेको हुनुपर्छ ।

२. मेडिकल काउन्सिलमा दर्ता: विश्वविद्यालयबाट उक्त उपाधि हासिल गरेपछि नेपाल मेडिकल काउन्सिलमा चिकित्सकको रूपमा दर्ता हुनु अनिवार्य छ । काउन्सिलले दर्ता प्रमाणपत्र प्रदान गरेपछि मात्र आधिकारिक रूपमा ‘डाक्टर’ उपाधि लेख्न पाइन्छ ।

३) गैरकानुनी प्रयोगमा बन्देज: कानुनले स्पष्ट रूपमा आफूले नपाएको डिग्री, डिप्लोमा वा उपाधि नामसँग जोडेर लेख्न नपाइने व्यवस्था गरेको छ । सम्बन्धित काउन्सिल (जस्तैः मेडिकल काउन्सिल) बाट ‘चिकित्सक’को उपाधि नपाएको व्यक्तिले आफ्नो नामको अगाडि ‘डा.’ लेख्नु गैरकानुनी मानिन्छ । यस विपरीत गए ३ वर्षसम्म कैद वा ३ हजार रुपैयाँ जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था ऐनको दफा २७ (२) मा छ । 

अर्थात् काउन्सिलको परिभाषा अनुसार बिरामीको उपचार गर्ने सन्दर्भमा ‘डाक्टर’ उपाधि आधुनिक चिकित्सा प्रणालीसँग सम्बन्धित छ । तान्त्रिक वा अन्य कुनै वैकल्पिक विधिमा आधारित छैन ।



Post a Comment

0 Comments